सागर परियार
सोमवार, मंसिर ३०, २०७६
617

जुम्ला-तिला गाउँपालिका–३ का कर्ण हमालले कात्तिक लागेसँगै बेमौसमी तरकारी खेती सुरु गरेका छन् । ५ रोपनी जग्गमा उनले विगत पाँच वर्षदेखि बेमौसमी तरकारी खेती गर्दै आएका छन् । उनले गोलभेडा, साग, गाजर, मुला धनियाँ बन्दा, गोवीलगायतका विभिन्न तरकारी फलाएर मनग्य आम्दानी गर्छन् ।
उनी आफ्नो उत्पादनलाई पूर्वमा खलंगादेखि पश्चिममा नाग्म बजारसम्म दैनिक बिक्री गर्छन् । घरपरिवारदेखि छोराछोरीको पढाई तरकारी खेतीबाटै चलेको छ । त्यस्तै, तिलाकै दिपेन्द्र हमाल पनि बेमौसमी खेतीमा व्यस्त हुन्छन् । आफनै ग्रीन हाउसभित्र बाह्रै महिना तरकारी फलाएर उनी पनि बेच्ने गर्छन् ।

विकास परियोजनाले ३ वर्ष पहिले तरकारी खेतीका लागि पाइप, प्लास्टिक तथा आवश्यक बीउ प्रविधि दिएपछि स्थानीयहरु तरकारी खेतीमा जुटेका हुन् । जुम्लामा कर्ण, दिपेन्द्र मात्रै नभइ आठवटै स्थानीय तहमा सयौं स्थानीय बेमौसमी तरकारी खेतीमा आर्कषित भएका छन् । व्यावसायिक तरकारी खेतीसँगै पछिल्लो समयमा खानका लागि भएपनि घरघरमा प्लास्टिक टनेल निर्माण हुन थालेका छन् ।
हिउँदको समयमा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लास्टिक टनेल निर्माण गरी बेमौसमी तरकारी उत्पादन गर्न थालेका हुन् । चन्दननाथ नगरपालिका ४ की कल्पना नेपालीले घरमा ग्रीन हाउस निर्माण गरी नियमित साग फलाउने गरेकी छिन् । उनले कात्तिक लागेसँगै बेमौसमी तरकारी उत्पादन गरी दैनिक बेचेर पाँचसय कमाउँछिन् । जुुम्लामा हिउँदमा अन्य जिल्लाबाट आयात हुने तरकारी महँगो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।
सिंजा गाउँपालिका ६ रुघाकी उमा बुढाले प्लास्टिक टनेलमार्फत गाउँमा बेमौसमी तरकारी उत्पादन गरी बेच्ने गरेको सुनाइन् । एक वर्षमा तरकारी बेचेरै एकलाख बचत गरेको उनले बताइन् । बेमौसमी तरकारी खेतीले किसानको आम्दानी बढेसँगै ताजा तरकारी पनि खान पाएको स्थानीय भरत बोहोराले बताए ।

तरकारी संकलन केन्द्र स्थापना
पातारासी गाउँपालिका २ की तारा बोहोरा दैनिक बिहान ७ नबज्दै सदरमुकाम तरकारी बेच्न पुग्छिन् । बजारमा तरकारी बेच्ने निश्चित ठाउँ नहँुँदा कहाँ राख्ने भनेर विगतमा उनलाई चिन्ता हुन्थ्यो । तर एक हप्तादेखि उनको समस्या समाधान भएको छ र अघिपछि कहाँ राख्ने भनेर चिन्ता मान्ने बोहोरा तरकारी संकलन केन्द्र स्थापना हुँदा निकै सहज भएको बताउँछिन् ।
संकलन केन्द्र स्थापना भएपछि बोहोरा जस्तै सयौं किसानलाई राहत भएको छ । कृषि विकास कार्यालय र चन्दननाथ नगरपालिका– ५ को सहयोगमा कृषि उपज तथा तरकारी संकलन केन्द्र स्थापना गरेको हो । तीन लाख कृषि विकास कार्यालय र पाँच वडा कार्यालयको सहयोगमा संकलन केन्द्र निर्माण गरिएको कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए ।
संकलन केन्द्र स्थापना भएसँगै बजारका पेटीमा राख्ने समस्या पनि हटेको उनको भनाइ छ । सबै किसान तरकारी एकै ठाउँमा राख्ने उपभोक्तालाई पनि खरिद गर्न सजिलो हुने लक्ष्यका साथ निर्माण गरिएको हो । अहिले व्यावसायिक तरकारी खेती गर्ने किसानहरु सिधै संकलन केन्द्रमा ल्याएर होलसेलमा बेचेर जान्छन् । संकलन केन्द्र स्थापना गरेपछि बिक्री गर्न सहज भएको किसानहरु बताउँछन् ।