कारोबार संवाददाता
शुक्रवार, मंसिर ६, २०७६
963

झापा-(नेकपा) तथा लिम्बुवान निकट विद्यार्थीहरुले झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा गरेकोे तालाबन्दी प्रहरीले फुटाएको छ । विद्यार्थीले शुक्रबार विहान क्याम्पसको प्रशासनिक भवनको मूल गेटमा ताला लगाएका थिए । ताला लगाएको २ घण्टा पछि प्रहरीले ताला फोरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
नेकपा निकट र लिम्बुवान विद्यार्थी मञ्चका विद्यार्थीले दोस्रोपटक तालाबन्दी गरेका हुन् । गत कात्तिक १९ गते पनि लगाइएको ताला कात्तिक २३ गते प्रहरीले फुटाएको थियो । विद्यार्थीहरुले क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, प्राध्यापक हरि तिम्सिनालाई पुनर्बहाली गर्नुपर्ने, भाडामा ल्याइएका प्राध्यापकहरुलाई फिर्ता पठाउनुपर्ने र ९ जना विद्यार्थीविरुद्ध प्रहरी कार्यालयमा परेको उजुरी फिर्ता लिनुपर्ने माग राखेका छन् ।
आन्दोलनरत विद्यार्थीहरुले कार्तिक २३ गते क्याम्पस सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाललाई कालोमोसो दलेका थिए । मोसो दल्ने कार्यमा संलग्न रहेको आरोपमा ९ जना विद्यार्थीमाथि कारबाहीको माग गर्दै अध्यक्ष चुडालले इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका छन् । उजुरी परेको विद्यार्थी फरार रहेकाले खोजी भईरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले बताए । कनकाई बहुमुखी क्याम्पसमा तीन सातादेखि पठनपाठन प्रभावित हुँदै आएको छ । प्राध्यापक हरि तिम्सिनाको करार नविकरण नगरिएको भन्दै नेकपा निकट विद्यार्थीले आन्दोलन गर्दै आएका हुन् । करार अवधि सकिएको शिक्षकको नविकरणको माग गर्दै आन्दोलन गरेकाले कात्तिक १४देखि पठनपाठन सञ्चालन गर्न बाधा पुगेको क्याम्पस प्रमुख विकास उप्रेती बताउँछन् ।