कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
425

डिजेल बोकेको ट्यांकर बीच बाटोमै गायब भएपछि त्यसको अनुसन्धान गर्नका लागि समिति गठन गरिएको छ । नेपाल आयल निगमले प्रादेशिक प्रमुख ई अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानविन टोली गठन गरेको हो । समितिले सात दिनभित्र सत्य तथ्य बुझी प्रतिवेदन पेश गर्ने छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले घटनाको सत्य तथ्य छानविन गर्नका लागि समिति गठन गरिएको जानकारी दिए । राजेश अग्रवालको नाममा करार सम्झौता भइ सञ्चालनमा रहेको ना ४ ख ४१६३ नम्बरको टयांकरले २० लिटर डिजेल लोड गरी निगमको १ नं प्रादेशिक कार्यलयबाट विरानगर लैजाने क्रममा सिरहाको लहानमा पार्किङ गरी राखेको अवस्थामा सात आठ जना अपहरणकारीले ट्यांकर गायव गराएको बताइएको छ ।

निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजेल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको भएको हो । ट्यांकर गायब भएपछि ढुवानीकर्ताले आयल निगमलाई जानकारी गराएका थिए ।
ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर अपहरणमा परेको लिखित जानकारी निगमलाई मंगलबार गराएका थिए । अपहरणकारीहरुले चालक रामदेव यादव र सहचालक उमेश यादवलाई छाडेर ट्यांकर मात्र लगेको गुप्ताको दाबी छ । उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन् ।
गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा पु¥याएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन् ।