कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
460

बर्दियामा ५८ किलो चरेस सहित ५ जना कारोबारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं ७ स्थित भन्सार रोडबाट ५८ किलो लागूऔषध चरेससहित ५ जनालाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई प्रहरी सहायक निरीक्षक सुनिल बस्यालसहितको विशेष टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पूर्वी रुकुमको साविक खबाङ गाउँ विकास समिति ८ बस्ने ३४ वर्षीय राजकुमार पुनमगर, भुमे गाउँपालिका घर भई हाल मुसिकोट नगरपालिका १ बस्ने २७ वर्षीय जुनतारा पुन, महत गाविस २ घर भई हाल भुमे गापा बस्ने ३४ वर्षीय सुनथामी बुढामगर, पूर्वी रुकुम साविक तक्सेरा गाविस ९ हाल पुथा उत्तरगंगा गापा बस्ने २६ वर्षीया अस्मिता रामजाली र रोल्पा जिल्ला साबिक पाछाबाङ गाविस ८ हाल दुईखोली गापा ८ बस्ने २९ वर्षीय खीमप्रसाद रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक रामशंकर कोहारले बताए ।
उनीहरुले पहाडी जिल्लाबाट चरेस संकलन गरी तराईको बाटो हुँदै भारततर्फ लैजाने क्रममा पक्राउ गरिएको उनको भनाई छ । पक्राउ परेकाहरुको साथबाट ५८ किलोग्राम लागुऔषध चरेस, नगद ३२ हजार पाँच सय अन्ठान्नब्बे रुपैयाँ र ५ थान मोबाइल सेट समेत फेला पारेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका पाँचैजनालाई लिइ आवश्यक अनुसन्धान भइरहेको छ । उनीहरु उपर लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा घ को ५ अनुसार कारवाही हुने बताइएको छ ।