कारोबार संवाददाता
बुधवार, कार्तिक २७, २०७६
462

रौतहटको ईशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा मंगलबार बम बिस्फोट भएको छ । बम बिस्फोटमा परेर एक प्रहरी जवान घाइते भएका छन् ।
प्रहरी चौकरीको सुरक्षार्थ सेन्ट्री पोस्टमा रहेका प्रहरी जवान रञ्जित यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी चौकीमा बम प्रहार गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका निवासी चन्दन कुमार राम छन् । प्रहरी चौकीमा बम प्रहार गरेर मोटरसाईकल सहित भाग्दै गर्दा दशगजा क्षेत्रबाट प्रहरीले मोटरसाइकल सहित रामलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
रौतहट प्रहरीका अनुसार बी आर ०५ एच ६५०९ नम्बरको भारतीय नम्बर प्लेट रहेको मोटरसाइकलमा दुई जना भारतीय नागरिक आएको र मठिया प्रहरी चौकीमा रहेका सेन्ट्रीलाई लक्षित गरेर सुतली बम प्रहार गरेकाले सेन्ट्रीमा रहेको प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान यादवकोे ढाडमा बमको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सामान्य घाइते यादवको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको छ । सो प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए । अरु पाँचजना प्रहरी भने सकुशल छन् । बम प्रहार गर्ने अर्का व्यक्ति भने फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक नविन कार्कीले जानकारी दिएका छन् । प्रहरी चौकीमा बम प्रहार भएपछि यतिखेर जिल्ला पहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको टोली घटनास्थलमा पुगेको र अनुसन्धान भैरहेको उनले बताए । मठिया प्रहरी चौकीबाट भारतिय सीमा क्षेत्र नजिकमा रहेको छ ।