कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
682

ताप्लेजुङ-विश्वकै तेश्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६मिटर) घुमफिरका लागि पर्यटक आवागमन सुरु भएको छ । असोजसँगै स्वदेशी तथा विदेशी पर्यटकको आवागमन सुरु भएको हो ।
सदरमुकाममा दैनिकजसो विदेशी पर्यटक तथा पथप्रदर्शक तथा भरिया देखिन थालेका छन् । सदरमुकामका होटलदेखि कञ्चनजंघा बेसक्याम्प क्षेत्रका खुद्रे पसलदेखि होटल व्यवसायीको व्यस्तता बढेको छ ।

सदरमुकामस्थित पाथीभरा गेस्ट हाउसका सञ्चालक नन्दु बानियाँका अनुसार बुकिङ गरेअनुसार पर्यटक आउन थालेका छन् । बानियाँले भने, “असोज–कात्तिकमा होटल खाली हुँदैनन् । सेवा सुविधामा ध्यान पु-याउन जरुरत छ ।”
पर्यटकको भारी बोकेर असोज पहिलो साता बेसक्याम्प प्रस्थानका लागि सदरमुकाममा भेटिएका लाक्पा शेर्पाका अनुसार गाउँका अधिकांश युवा बेसक्याम्प प्रस्थान गर्ने तयारीमा छन् ।
फक्ताङलुङ गाउँपालिका–२ का २४ वर्षीय शेर्पा सिजनमा २ पटकसम्म ओहोरदोहोर गर्छन् । उनले भने, “सदरममुकामदेखि कञ्चनजंघा घुमफिरको २२ क्याम्प हो । क्याम्प खप्ट्याए मुश्किलले दुई हप्तामा पूरा हुन्छ ।” गाउँघरमा खोलिएका रोजगारीको तुलनामा दैनिक ज्याला राम्रो भएकाले दसैंमा पनि भारी बोकेर जाने गरेका छन् उनीहरु । कञ्चनजंघा भरिया संघका जिल्ला अध्यक्ष नविन अन्छङबोका अनुसार दैनिक ज्याला १ हजार ५ सय हुन्छ । अन्छङबोले भने, “बिहान, बेलुकीको खाना र खाजा खर्च कटाएर कम्तीमा १ हजार बचत हुन्छ ।
गाउँमा काम गरे ५ सय भन्दा बढी पाइँदैन ।” आफ्ना लागिसहित गरी कम्तीमा ३५ केजीको भारी हुन्छ । शेर्पा र अन्छङ्बोका अनुसार मजदुरी गरेर खानेलाई चाडपर्वले त्यति छुँदैन । सिजनमा काम नगरी चाडपर्व भन्दै रमाइलोमा बिताए वर्षभरि हातमुख जोर्न धौ–धौ हुन्छ । दसैं र तिहार प्रायः बेसक्याम्पमै मनाउने गर्छन् । चामल र रङ होटल तथा बस्तीमा पाइन्छ । भरिया, पथप्रदर्शक र पर्यटक एक आपसमा शुभकामना आदानप्रदान गरि मनाउने गरेका छन् दसैं ।
पर्यटकीय बस्ती घुन्साका १ दर्जन होटल असोजसँगै भरिएका छन् । असोज दोश्रो साता १२ टोली घुन्साबाट बेसक्याम्प प्रस्थान गरेका छन् । घुन्सास्थित कञ्चनजंघा गेस्ट हाउसका सञ्चालक धार्के शेर्पा (दिपक) का अनुसार पर्यटक आवागमनसँगै व्यस्तता बढेको छ । असोज दोश्रो सातादेखि २० वटै कोठा प्याक छन् । करिब ३० लाख रुपैयाँ खर्चिएर बनाएको होटलमा नुहाउनका लागि तातो पानीको व्यवस्था छ ।
घुन्सामा मासु खानाको ५ सय ५० र सादा खाना दाल भात तरकारीको ४ सय ५० पर्छ । शेर्पाले भने, “सेप्टेम्बर र अक्टोबर तथा मे महिनामा व्यस्त हुन्छौ । बाँकी ९ महिना ठीकै हुन्छ ।” नजिकैको खोलाबाट उत्पादित ३५ किलोवाट बिजुलीले बेलुकीको समय बस्ती नै झिलीमिली हुन्छ । घुन्सामा ४५ घर छन् । तीमध्ये एक दर्जन बढिको मुख्य पेशा होटल हो । घुन्सादेखि माथि खम्बाचेनमा ५ वटा, सेलेलेमा ३, बेसक्याम्पमा १ र लोनाकमा ५ होटल छन् ।
सेप्टेम्बरको सुरुवातमै होटल खोल्न व्यवसायी पुगेका छन् । भ्रमण वर्ष २०२० को अवसरमा व्यवसायीले स्वागतको शैली फेरेका छन् । परम्परादेखि नै नमस्कार गरि स्वागत गर्ने चलन थियो तर यसपटक खादा ओढाएर र हिमाली प्रजातीका फूल दिएर स्वागत गर्ने गरेका छन् । अतिथि देवो भवः अर्थात् पर्यटक हाम्रा पाहुना हुन् भन्ने भावना बाटोमा हिँड्ने बटुवादेखि व्यवसायीसम्म जागृत हुन थालेको छ । यसैबीच पर्यटकीय बस्ती घुन्सामा टेलिफोन सेवा सुविधाले दैनिकीमा सहयोग मिलेको छ । नेपाल टेलिकमको सेटलाइट सिस्टमअनुसार एकै पटक ४० जनाले कुराकानी गर्न मिल्नेगरिको सुविधाले सूचना आदानप्रदानमा सहयोग पुगेको हो । यसअघि गाउँमा भएको ४ वटा ‘एनटि सेट फोन’ मा सिंगो बस्ती मात्र नभई प्रहरी समेत निर्भर थियो ।
कञ्चनजंघामा वार्षिक १ हजार हाराहारीमा विदेशी पर्यटक आउने गरेको तथ्याङ्क छ । कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत महेश्वर निरौलाका अनुसार पर्यटक आवागमन वार्षिक रुपमा बढ्दो छ । तथ्याङ्कअनुसार आव २०७४-७५ मा ७ सय ६५ जनाले भ्रमण गरेका छन् ।
आरोहण निकै गाह्रो मान्ने गरिएको कञ्चनजंघामा यस वर्षको मे महिनामा मात्र ७० जनाले सफल आरोहण गरे । २ जना भारतीय नागरिकको ज्यान गएको थियो भने चिलीका १ जना नागरिक वेपत्ता भएका थिए । हिमाल आरोही मिङ्मा डेविट शेर्पाका अनुसार कञ्चनजंघा क्षेत्रका कतिपय ठाउँ ‘भर्जिन’ भएकाले पर्यटकले चासो देखाउन थालेका छन् ।

देवराज गुरुङ