कारोबार संवाददाता
बिहिवार, आश्विन १६, २०७६
500

मनाङ-नजिकिँदै गरेको दसैं, दिपावली, छठ पर्वमा सवारी दुर्घटना न्युनिकरणका लागि मनाङमा थप ट्राफिक प्रहरी परिचालन गरिएको छ । पर्वमा हुन सक्ने अपराधिक तथा सवारी साधनमा हुन सक्ने विभिन्न दुर्घटनालाई मध्यनजर दिँदै जिल्ला प्रहरी कार्यालय मनाङले जिल्लाभित्र थप ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरिक्षक श्रवण कुमार बिकले बताए ।
चाडपर्वसँगै पर्यटक सिजन समेत सुरु भैसकेको समयमा पर्यटकहरुमा पनि वृद्धि हुँदै आएकोले पर्यटक सुरक्षा, सवारी साधन दुर्घटना, सवारी साधनमा हुन सक्ने भाडा दरमा ठगी, लागू पदार्थ तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने र कागजपत्र नलिईकन सवारी साधन चलाउने जस्ता कृयाकलापलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय मनाङले ट्राफिक प्रहरी परिचालन गरेको बिकको भनाइ छ ।

असोज ९ गतेबाट मनाङ जिल्लाको सदरमुकाम चामेमा र नासोँ गाउँपालिका हुम्दे प्रहरी चौकीमा थप ट्राफिक प्रहरी परिचालन गरेको हो । जसमध्ये हुम्दे प्रहरी चौकीमा एक जना र सदरमुकाम चामेमा २ जना गरी ३ जना ट्राफिक प्रहरी परिचालन गरेको छ । अब यी स्थानमा ट्राफिक प्रहरी परिचालन गरी निरन्तरता पाउने जिल्ला प्रहरी बिकले बताए ।
यसअघि मनाङ जिल्लामा नासोँ गाउँपालिका धारापानीमा मात्र ट्राफिक प्रहरी रहेकोमा स्थानीयबासीको माग तथा सवारी दुर्घटना न्युनिकरणका लागि आवश्यक ठानी जिल्ला प्रहरी कार्यालय मनाङले यी दुई ठाउँमा थप ट्राफिक प्रहरी परिचालन गरेको हो ।