कारोबार संवाददाता
बुधवार, आश्विन १५, २०७६
526

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुव्र्ययवहारको आरोपका बारेमा सामान्य नागरिकसरह छानबिन गर्नुपर्ने बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर कांग्रेसले कानुनको नजरमा सबै नागरिक बराबर हुने भन्दै सभामुख महरामाथि लागेको आरोपका बारेमा कानुनबमोजिम छानबिन हुनुपर्ने बताएको हो ।
पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, “कानुनको नजरमा सबै समान हुन्छन् । कानुनतः प्रक्रियामा गएर निर्दोष सावित हुन पाउने अधिकार सामान्य नागरिकलाई पनि छ । दण्डित हुनुपर्ने जिम्मेवारीबोध उच्च पदको मानिसलाई पनि हुन्छ । यसकारण कानुनले आफ्नो बाटो लिनुपर्छ । कानुनबमोजिम यो प्रक्रिया अगाडि बढ्नुपर्छ । कानुनले के भन्छ भन्ने बारेमा हामीले धेरै भनिरहनुभन्दा पनि यो विषय पहिले नै प्रष्ट छ ।”

सभामुख महराले पद त्याग गरेको घोषणा गरेको विषयलाई कांग्रेसले राजीनामा कार्यवाहक दिएजस्तो भएको टिप्पणी गरेको छ । “छानबिन निष्पक्ष रुपमा अगाडि बढाउनका लागि सभामुख महराले जिम्मेवारी परित्याग गर्नुपर्छ भन्ने मान्यता कांग्रेसले सार्वजनिक ग¥यो । र, महराले पनि पद त्याग गरेको घोषणा गर्नुभएको छ । तर, राजीनामा दिनुभएको हो कि कार्यवाहक दिनुभएको हो ?” प्रवक्ता शर्माले प्रश्न गरे ।
शर्माले छानबिनका लागि एक वर्षसम्म लाग्यो भने संसद कार्यवाहकले चलाउने ? भन्ने प्रश्नसमेत गरे । “उपसभामुखलाई कार्यवाहक दिने भन्ने जुन व्यवस्था छ, त्योअनुसार राजीनामा दिएँ भन्नुभएको छ । तर, उहाँले आफैँ समयावधि किटान गर्नुभएको छ– छानविन प्रक्रिया नसकिएसम्म । यस बीचमा छानबिन गर्न एक वर्ष लाग्यो भने नेपालको संसद सभामुखविहीन भएर एक वर्षसम्म कार्यवाहकको नेतृत्वमा जाने ?” शर्माको प्रश्न छ ।