कारोबार संवाददाता
शुक्रवार, आश्विन १०, २०७६
517

दसैंमा यात्रुलाई गन्तव्यसम्म सहजीकरण गर्नेका लागि असोज १२ देखि १९ गतेसम्म रुट परमिटबिना नै सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागले दसैंमा राजधानीबाट बाहिरिने यात्रुलाई सहजीकरण गर्न एक साता रुट परमिटबिना नै सार्वजनिक सवारी देशभर आवतजावत गर्न सक्ने जनाएको छ । दसैंमा रुट परमिट बाहेका सवारी पनि मुलुकभरि यात्रुलाई सेवा दिन सकून् भन्ने हिसाबले कालो नम्बर प्लेटका सवारी मुलुकभर जान पाउने गरी निर्णय गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
दसैंमा परमिट लिएका सवारीले मात्र दसैंमा बाहिरने यात्रुलाई सेवा प्रवाह गर्न नसक्ने भएकाले थप गरिएका सवारीले पनि मुलुकभर सञ्चालन गर्ने सक्ने गरी रुट परमिट समिति समयका लागि हटाएको हमालको भनाइ छ ।

दसैंका फ्रि रुट परमिट लागू भएपछि यात्रुहरूले थप गरिएका सवारीबाट यात्रा गर्ने सक्ने छन् । मागअनुसार सवारी थप गरे यात्रुलाई गन्तव्यमा पु-याउने यातायात व्यावसायीले बताउँदै आएका छन् ।
साथै विभागले यात्रुवाहक सवारी साधनलाई सडकमा प्राथमिकता दिएर यात्रा सहजीकरण गर्नेका लागि मालवाहक सवारी साधनलाई नागढुंगाबाट नै प्रवेशमा रोक लगाएको महानिर्देशक हमालले बताए ।
टिकटमा हुने कालोबजारी रोक्न विभागका महानिर्देशक हमालको संयोजकत्वमा केन्द्रीय यातायात व्यवस्थापन अनुगमन समिति समेतको टोली खटाइएको छ ।
विभागले यात्रुलाई सेवा प्रवाह गर्नेका लागि विभागबाट ६ समूह बनाएर अनुगमन समेत तीव्र पारेको जनाएको छ । यात्रुले सहज रूपमा यात्रा गर्नका लागि टिकट बिक्रीमा कुनै खालको भन्झट कठिनाइ हने छैन, विभाग र प्रहरीको सहकार्यमा टिमनै बनाएर अनुगमन गरेको छ । यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म जानका लागि राजधानीको विभिन्न १४ स्थानमा नागरिक सहायता कक्षसमेत बिहीबारबाट स्थापान गर्नेछ । यात्रुलाई टिकटिङ र यात्रा सहज गराउनका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको हो । दसैंमा कुनै यात्रु नठगिन दिन अनुगमन समिति गठन गरेको हो ।