कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
321

बारा-विभिन्न आर्थिक अपराधमा संलग्न अदालतले सजाय सुनाएका फरार अपराधी जिल्ला प्रहरी कार्यालय बाराले धमाधम पक्रन थालेको छ । उद्योगी–व्यापारीको अपहरण हत्या, उद्योगका सामान चोरी, ठगी, किर्ते जालसाजी, खोटाचलन, लेनदेन लगाएतका विभिन्न अपराधमा संलग्न सजाय तोकिएका फरार अपराधी पक्राउ पर्न थालेका हुन् ।
पक्राउ अभियान सफल बन्दै गएको र निरन्तर जारी रहने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जितसिंह राठौरले बताए । अदालतबाट सजाय तोकिएका १५६ जना फरार अपराधी पक्रन सफल बारा प्रहरीले पक्राउ गरेकामा आर्थिक अपराधका विभिन्न शिर्षकका अपराधीहरु रहेका छन् ।
व्यापारी अपहरण र कर्तव्य ज्यानका ८, उद्योगमा चोरी र लुटपाटका ३४, वन काठ तस्कर २५, जालसाजी ११, लेनदेन १० लगाएतका अदालतले सजाय तोके पनि फरार रहि आएकालाई पक्राउ गर्न प्रहरी सफल बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अदालतबाट कैद सजाय तोकिएर २५ वर्षदेखि हालसम्म फरार अपराधीहरु प्रहरीले विगत १ वर्षयता अभियान नै चलाएर पक्राउ गर्न सफल भएको हो । जिल्लाका ग्रामीण क्षेत्रमा अझै फरार अपराधिहरु लुकिछिपि बस्दै आएका र स्थानीयले समेत जानकारी नगराउने गरे पनि प्रहरीको एकल प्रयासले सातामा फरार अपराधि तीनदेखि पाँच जना पक्रन सफल भएको दाबी गरेको छ । भारतिय सिमासँगै जोडिएको जिल्ला भएको र नाता सम्बन्धका कारण यताका अपराधि भारत गएर बस्ने तथा भारतका फरार अपराधि यहाँ बस्ने गरेको समेत प्रहरीको अनुसन्धानले देखाएको छ ।