कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
506

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितनिवास क्याम्पभित्र पर्ने जग्गा अनियमितताका आरोपी थप ५८ जनालाई बयानका लागि बोलाएको छ ।अख्तियारले कल्पना तुलाधरसहितको नाममा सार्वजनिक सूचना नै जारी गरी म्याद सूचना प्रकासित भएको ७ दिनभित्र उपस्थित हुन भनेको छ । ७ दिनभित्र सम्पर्क राख्न नआए कानूनबमोजिम कारवाही हुने समेत भनेको छ ।

तत्कालीन सरकारले प्रचलित कानुनवमोजिमको मुआव्जासमेत दिई अधिग्रहण गरिलिएको साविक हाँडीगाउँ मौजा हा.नं ४५६ को लगत भिइने ललित निवास क्याम्पभित्र पर्ने काठमाडौं, वालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीवजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानूनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरी अनुसन्धानको सिलसिलामा केही बुझनुपर्ने भएकोले म्याद सूचना प्रकासित गरिएको र सूचना प्रकासित गरिएको ७ दिनभित्र सम्पर्क राख्न तथा नआए कानूनबमोजिम भई जानेछ अख्तियारले भनेको छ ।
अख्तियारमा उपस्थित हुन जारी गरिएको सूचनामा कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार, मनोज कुमार केडियालगायत ५८ जनाको नाम छ । कामना पूर्वसेनापति छत्रमान सिंह गुरुङको छोरी तथा व्यवसायी मीनबहादुर गुरुङको बुहारी हुन् । त्यस्तै, अन्य व्यापारी तथा व्यवसायीको नाम पनि बयानका लागि बोलाइएकाहरूको सूचीमा छ । सरकारी जग्गालाई व्यक्तिका नाममा बनाएको उजुरीको आधारमा अख्तियार यसअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका पुत्र नविन पौडेलका साथै भू–माफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी लगायत ८९ जना आरोपितलाई बयानको लागि ७ दिनको म्याद दिएर बोलाएको थियो ।