केशव समर्पण
बुधवार, भदौ १८, २०७६
337

सामाजिक अपराध भने घट्दै

हेटौंडा-प्रदेश–३ मा बर्सेनि अपराधका घटना वृद्धि हुँदै गएको पाइएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकअनुसार काठमाडौं उपत्यकाबाहेक १० जिल्लामा हत्या, हिंसा बलात्कार र लागूऔषध कारोबारको आँकडा बर्सेनि उकालो चढ्दै गएको छ ।
तीन वर्षयता जबरजस्ती करणीको मुद्दा दर्ता ६३ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७३-७४ मा जबरजस्ती करणीका १ सय ४३ मुद्दा दर्ता भएकोमा २०७४-७५ मा १ सय ९२ र २०७५-७६ मा आइपुग्दा २ सय २८ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शेर बहादुर बस्नेतले बताए ।

बाल यौन दुरुपयोगको मद्दा २०७४-७५ मा एउटा मात्र दर्ता भएकोमा २०७५-७६ मा ३९ दर्ता भएको छ । घरेलु हिंसाका घटनामा पनि वृद्धि हुँदै गएको छ । प्रहरी नायब महानिरीक्षक बस्नेतका अनुसार आर्थिक वर्ष २०७३-७४ मा १ हजार ३ सय ४४ वटा घरेलु हिंसाका उजुरी दर्ता भएकोमा २०७४-७५ मा १ हजार ४ सय ८८ र २०७५-७६ मा १ हजार ५ सय ६७ मुद्दा दर्ता भएको छ ।
ज्यान मार्ने उद्योगअन्तर्गतको मुद्दा पनि बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७३-७४ मा ६२ मुद्दा दर्ता भएकोमा २०७४-७५ मा ७६ र २०७५-७६ मा १ सय ६ वटा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ ।
आत्महत्या गर्नेको संख्या पनि प्रदेशको १० वटा जिल्लामा बर्सेनि बढ्दै गएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७३-७४ मा ७ सय १३ जनाले आत्महत्या गरेकोमा २०७४-७५ मा ७ सय ८० र २०७५-७६ मा ८ सय २३ जनाले आत्महत्या गरेका छन् । तीमध्ये ५ सय ५७ जनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
लागूओषध ओसारपसार र कारोबारसम्बन्धी मुद्दा पनि अधिक मात्रामा पर्ने गरेका छन् । आर्थिक वर्ष २०७३-७४ मा लागूऔषध सम्बन्धी २ सय ११ वटा मुद्दा दर्ता भएकोमा २०७४-७५ मा २ सय ६८ र २०७५-७६ मा ३ सय ९ वटा मुद्दा दायर भएको छ ।
प्रदेशमा संगठित अपराधको घटनामा पनि वृद्धि हुँदै गएको पाइएको छ । आर्थिक वर्ष २०७३-७४ मा संगठित अपराधसम्बन्धी ४ सय २० वटा मुद्दा दर्ता भएकोमा २०७४-७५ मा ४ सय १६ र र २०७५-७६ मा ५ सय ४१ मुद्दा दर्ता भएका छन् ।

जघन्य अपराधमा मकवानपुर अघि
प्रदेश राजधानी रहेको मकवानपुरमा जघन्य अपराधका घटना सबैभन्दा बढी भएको देखिएको छ । आर्थिक वर्ष २०७५-७६ मा प्रदेशका १० जिल्लामध्ये मकवानपुरमा २ सय ५८ वटा जनघन्य अपराधका घटना भएका छन् । त्यस्तै चितवनमा २ सय ११ र धादिङमा १ सय ३ वटा घटना भएका छन् । कार्यालयको तथ्याङ्क अनुसार रसुवामा सबैभन्दा कम ११ वटा घटना भएका छन् ।
जघन्य अपराधसँगै लागूऔषध उत्पादन र कारोबारमा पनि मकवानपुर पहिलो नम्बरमा छ । मकवानपुरबाट आर्थिक वर्ष २०७५-७६ मा ३ हजार ६ सय २४ किलो ७ सय ग्राम गाँजा, चरेश, खैरो हिरोइन र अफिम बरामद भएको छ । दोस्रो नम्बरमा रहेको धादिङबाट १ जहार ७ सय ५८ किलो र चितवनबाट १ हजार ४ सय १६ किलो यस क्षेत्रमा उत्पादन भएको लागूऔषध गाँजा, चरेश, खैरो हिरोइन र अफिम बरामद गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५-७६ मा लागूऔषध सम्बन्धी ३ सय ९ वटा मुद्दा दर्ता भएकोमा ४ सय ८५ जना पक्राउ परेका छन् । तीमध्ये ३९ जना विदेशी रहेका छन् ।
तीन वर्षको प्रहरी तथ्यांकलाई केलाउँदा प्रदेशको १० जिल्लामा सामाजिक अपराधका घटना भने घट्दो क्रममा रहेको छ । सामाजिक अपराध सम्बन्धी मुद्दा आर्थिक वर्ष २०७३-७४ मा एक हजार ४ सय ७४ वटा दर्ता भएकोमा २०७४-७५ मा एक हजार ६ सय ७१ वटा र २०७५-७६ मा १ हजार १ सय ८५ मा झरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै जर्बजस्ती करणी उद्योगको घटना पनि घट्दो क्रममा देखिन्छ । आर्थिक वर्ष २०७३-७४ मा ८३ मुद्दा दर्ता भएकोमा २०७४-७५ मा ९९ र २०७५-७६ मा ६१ मुद्दा दर्ता भएको कार्यालयको तथ्याङ्क छ । कर्तब्य जान सम्बन्धी अपराध पनि घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७३-७४ मा ६० वटा घटना भएकोमा २०७४-७५ मा ८० र २०७५-७६ मा ५८ वटा घटना भएको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताए ।
गाउँघरमा अबैध हतियार राख्न प्रहरीले कडाई गरेपछि अबैध हात हतियार सम्बन्धी मुद्दा पनि घट्दै गएको प्रदेश प्रहरी प्रमुख बस्नेतले बताए । आर्थिक वर्ष २०७३-७४ मा २१ वटा मुद्दा दर्ता भएकोमा २०७४-७५ मा २७ र २०७५-७६ मा १९ वटा मुद्दा दर्ता भएको तथ्याङ्क छ ।


सातामा धेरै पढिएको