कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
408

मुगु- मुगुका सहायक प्रमुख जिल्ला अधिकारीले फर्जि बिल पेश गरी छायानाथ रारा नगरपालिकाबाट रकम भुक्तानी लिएको खुलासा भएको छ । सहायक प्रजिअ प्रदिपकुमार ढकालले कर्मचारी व्यवस्थापनको सिलसिलामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा जाँदा–आउँदा हवाई खर्चमा लागेको टिकटको वास्तविक रकमभन्दा बढी पेश गरेको पाइएको हो ।
मंगलबार बिहान छायानाथ रारा नगरपालिकाले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सहायक प्रमुख जिल्ला अधिकारी ढकालले २०७६ वैशाख ३१ गते नगरपालिकामा पेश गरेका टिकट फर्जि देखिएको छ । ढकालले नेपालगञ्जदेखि काठमाडौं  जाँदा वास्तविक रकम ४ हजार ५ सय तिरे पनि नगरपालिकामा ७ हजार ३ सय र काठमाडौंबाट नेपालगञ्ज फर्किंदा ७ हजार ३ सय नै वास्तविक टिकटको शुल्क तिरे पनि नगरपालिकामा ८ हजार ८ सय तिरेको फर्जि टिकट पेश गरी भ्रमण भत्तासहित ३९ हजार १ सय ७० रुपैयाँ भुक्तानी लिएको पाइएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै ढकालले जिल्ला प्रशासन कार्यालयको गाडी मर्मत गर्दा जिल्लामा नै नभएको शुभ ट्रेडर्स  एण्ड अडर सप्लायर्स मुगुको बिल पेश गरी १ लाख ५० हजार रुपैयाँ पेश्की लिएको पाइएको छ । जिल्लामा गाडी मर्मत गर्ने गाडीका पार्टपुर्जा पाइने वर्कशप अहिलेसम्म नभए पनि सहायक प्रमुख जिल्ला अधिकारी ढकालले नगरपालिकामा २ लाख २९ हजार २ सय ७७ रुपैयाँको विल पेश गरेको नगर प्रमुख शाहीले बताए । ढकालले आफू जिल्ला बाहिर गएको बेला यसरी फर्जि विल पेश गरेको र नगरपालिकाका प्राविधिकलाई अनावश्यक मानसिक तनाव दिने काम समेत गरेको नगर प्रमुख शाहीको आरोप छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ढकालले भने आफूमाथि नगरप्रमुखले झुटा आरोप लगाएको दाबी गरेका छन् ।