कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
375

हेटौंडा-आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउपछि धरौटीमा रिहा भएका पत्रकार रवि लामिछानेले जिल्ला अदालत चितवनको आदेश बदर गर्न माग गर्दै पुनरावेदन गरेका छन् ।
जिल्ला अदालत चितवनले आदेशमा उल्लेख गरिएको सर्तहरु खारेज गर्न माग गर्दै लामिछाने र युवराज कँडलले मंगलबार उच्च अदालत पाटन हेटौंडा इजलासमा निवेदन दर्ता गराएका हुन् । पाँच पृष्ठ लामो निवेदनमा कानुनी व्यवस्थाविपरीत जिल्ला अदालत चितवनले धरौटी र थुनछेक दुवै हुने आदेश गरिएको जिकिर गरिएको छ ।

देशबाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने, आफैले वा आफ्ना समर्थकहरु प्रयोग गरी यस विषयमा प्रचार प्रसार गर्न नपाउने जस्ता शर्तहरु बदर हुनपर्ने माग निबेदनमा गरिएको छ । उच्च अदालत पाटन हटौंडा ईजलासका प्रवक्ता अमृत घिमिरेका अनुसार निवेदनमा शालिकराम पुडासैनीले मृत्यूपूर्व बनाएको भिडियोलाई मात्र आधार बनाई चितवन जिल्ला अदालतले बस्तुनिष्ठ आधार बिना मुद्दा दर्ता गरिएको निवेदनमा उल्लेख गरिएको छ ।
निवेदन फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ तथा न्याय प्रशासन ऐन ३०७३ को दफा १५ बमोजिम दर्ता गरिएको हो । अदालतमा दर्ता भएको निवेदन बुधबार नै ईजलासमा पेश हुने बताइएको छ । निवेदनमा बासुप्रसाद पुडासैनी र नेपाल सरकार समेतलाई बिपक्षी बनाइएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहत गरेको आरोपमा हिरासतमा रहेका लामिछाने र कँडेललाई जिल्ला अदालत चितवनको भदौ ९ गतेको आदेशले धरौटीमा छाडिएको थियो । लामिछानेले ५ लाख र कँडेलले ३ लाख रुपैयाँ धरौटी बुझाएका थिए ।


सातामा धेरै पढिएको