कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
498

विराटनगर-सर्वसाधारणको १० करोडभन्दा बढी रकम लिएर मोरङको बेलबारी–१ मा लामो समयदेखि सुनचाँदीको कारोबार गर्दै आएका एक व्यापारी बेपत्ता भएका छन् ।
बेलबारी–१ सिनेमा हल लाइनमा ओमकृष्ण सुनचाँदी पसलका सञ्चालक घनश्याम श्रेष्ठ सर्वसाधारणको १० करोडभन्दा बढी रकम ठगी गरी बेपत्ता भएका हुन् । ठगीमा पर्नेमा बेलबारीका प्रतिष्ठित व्यक्तिदेखि सर्वसाधारणसम्म छन् । ब्याजको प्रलोभनमा परी श्रेष्ठलाई पैसा दिएका २ सय बढी सर्वसाधारण ठगीमा परेको रहस्य खुलेको छ । ठगीमा पर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

सबैभन्दा बढी जग्गा दिने र फ्याक्ट्री खोलेर सेयर दिने बहानामा व्यापारी श्रेष्ठले ठगी गरेको पीडितहरूको भनाइ छ । सुन पसलमा आउने ग्राहकहरूसँग आकर्षक ब्याज दिने भन्दै दुई वर्षदेखि धितोमा राखेको र बचत गरेको पैसा उठाएर ठगी गर्दै आएका उनी एक महिनादेखि सम्पर्कविहीन छन् । बेलबारीमा श्रेष्ठको सुन–चाँदी र हार्डवेयर पसल थियो । दुवै पसल बन्द गरेर श्रेष्ठ अहिले सम्पर्कविहीन भएका हुन् । जग्गा दिने र उद्योग खोलेर सेयर सदस्य बनाउने भन्दै रकम उठाएर श्रेष्ठ फरार भएको पीडितहरूको गुनासो छ ।
श्रेष्ठलाई सम्पर्कमा ल्याई आफ्नो पैसा फिर्ता गर्न माग गर्दै केही व्यवसायीले प्रस्तावित उद्योग वाणिज्य संघ बेलबारीमा केही महिनाअघि निवेदनसमेत दिएका थिए । त्यसपछि श्रेष्ठलाई सम्पर्क गरी छलफलमा बोलाइएको भए पनि पटक–पटक आउँछु भन्ने तर नआउने गरेको र पछिल्लो समय उनी बेपत्ता भएको संघका उपाध्यक्ष केदार अधिकारीले बताए ।
स्थानीयले बेलबारी नगरपालिकामा पुगी उपमेयर ढाकाकुमारी पराजुलीलाई निवेदनसमेत दिएका थिए । लेनदेन कारोबारको मुद्दा नगरपालिकाले हेर्न नमिल्ने भएपछि उनी निवेदन दर्ता नगरेको तर स्थानीय समस्या भएका कारण श्रेष्ठलाई सम्पर्क गर्ने कोसिस गरिए पनि उनी सम्पर्कमा नआएको र जिल्ला प्रशासन र प्रहरीमा उजुरी दिन आफूले भनेको पराजुलीले बताइन् ।
एक जनासँग ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएर श्रेष्ठ फरार भएको पीडित मातृकाप्रसाद पराजुलीले बताए । पीडितहरूले पराजुलीको संयोजकत्वमा संघर्षसमिति नै गठन गरेर डुबेको पैसा फिर्ताका लागि हारगुहार गरिरहेका छन् । मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले पीडितले जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गरिने बताए ।