कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
337

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सुशासन, विकास र समृद्धिको राष्ट्रिय अभियानमा एकजुट भएर लाग्न युवाहरूलाई आग्रह गरेका छन् । युवा क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाद्वारा आयोजित सप्ताहव्यापी ‘राष्ट्रिय युवा अधिकार महाभेला २०७६’ उद्घाटन बोल्दै मन्त्री विश्वकर्माले यस्तो आग्रह गरेका हुन् ।
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ का अवसरमा युथ एडभोकेसी नेपाल, राष्ट्रिय युवा महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग युवा संजाल नेपाल, दलित युथ एलाईन्स, युनाइटेड युथ लगायतका ३५ वटा भन्दा बढी गैरसरकारी संस्थाले राजधानीको अनामनगरमा आयोजना गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले महाभेलाबाट निकालिने घोषणापत्र आफूलाई उपलब्ध गराउन अनुरोध गरेका छन् ।
कार्यक्रममा मन्त्री विश्वकर्माले गायक पशुपति शर्मालाई सम्मान गरे । गायक पशुपति शर्माले समाजिक जनचेतना र वस्तुस्थितिका बारेमा गीत गाएको भन्दै आफ्ना रचनाहरूलाई व्यंग्यात्मक रुपमा ग्रहरण गर्न आग्रह गरेका छन् । कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल, सेसी इन्टरनेसनलका राष्ट्रिय निर्देशक सिताराम भट्ट, गैरसरकारी संस्था महासंघका अध्यक्ष जित बहादुर लामा, संकल्पका अध्यक्ष लिली थापा, राष्ट्रिय युवा अधिकार महाभेलाका संयोजक महेन्द्र थापा लगायतले मन्तव्य राखेका थिए ।