कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
487

धादिङ- स्काभेटरले खनेको खाल्टोमा डुबेर दुई जना बेपत्ता भएपछि आक्रोशित मजदुरहरुले ३ वटा स्काभेटर जलाएका छन् । गजुरी गाउँपालिका वडा नं. ७ भष्मेकर्खका १८ वर्षिय भीम बहादुर गलान र २३ वर्षिय सुमन स्याङतानको ठुलीफाँट नजिक दरियाल खोलामा स्काभेटरले खनेको खाल्टोमा फसेर मृत्यु भएको हो ।
त्यसपछि आक्रोशित भिडले खोला किनारमा रहेका स्काभेटरमा आगजनी गरेका थिए । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काको कमाण्डमा गएको प्रहरी टोलीले दुई वटा स्काभेटर आगजनी हुनबाट बचाउन सफल भयो ।
पहाडको चुचुरोमा बसोबास गर्दै आएका उनीहरु ४ वर्ष अघिदेख बर्खा मौसममा बालुवा निकालेर घरखर्च टार्दै आएका थिए । मृतकका आफन्त र स्थानीयले मेसिन प्रयोग रोक्ने प्रतिवद्धता विना शव उठाउन नदिने अडानमा रहेका छन् । खोलामा मेसिन प्रयोग हुन थालेपछि स्थानीयले मेसिन प्रयोग गरी बालुवा निकाल्न संलग्न हुनेहरुलाई मेशिन रोक्न पटकपटक आग्रह गरेका थिए । तर उनीहरुले नमानेपछि स्थानीय स्तरमा विवाद उत्पन्न भएको थियो । स्थानीय मजदुरहरु जिल्ला प्रशासन कार्यालय आई प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे समक्ष समस्याको जानकारी गराएका थिए ।