कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
407

प्रतिनिधिसभाका सांसदहरु जनार्दन शर्मा र देवेन्द्रराज कँडेलले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान राखिएको उल्लेख गर्दै नेकपा सांसद शर्मा र कांग्रेसका कँडेलले उक्त व्यवस्था हटाउन माग गरेका हुन् ।
सहमतिको आधारमा स्थानीय तहको कर्मचारीलाई प्रदेशभित्रको अन्य स्थानीय तहमा सरुवा गर्न सकिने प्रावधान विधेयकमा उल्लेख गरिएको छ । सांसद कँडेलले बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सहमति भनेपछि त्यसमा कांग्रेस, कम्युनिष्ट र मधेशी दल भनेर राजनीतिक आस्थालाई हेरिने भएकाले सो प्रावधान हटाउन सरकारसँग माग गरे ।
त्यसैगरी नेकपाका सांसद शर्माले पनि सहमतिको नाममा कर्मचारीहरुलाई सरुवाका लागि बाध्य पार्ने ढंगले सो प्रावधान राखिएको उल्लेख गर्दै मान्य नहुने बताए । उनले योग्यता, क्षमताको आधारमा कर्मचारीहरुले सरुवा हुन पाउने व्यवस्था गरेर अघि बढन पनि सरकारलाई सचेत गराए । समितिका सदस्यहरुले कर्मचारीहरुको सरुवा आवश्यक्ताको आधारमा हुनुपर्ने कानुनी व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।