कारोबार संवाददाता
आइतवार, श्रावण ५, २०७६
1516

दोलखाबाट काठमाडौं जाँदै गरेको अवस्थामा १४ लाख ६८ हजार रुपौयाँ शंकास्पद रकमसहित सिँचाइ तथा जलस्रोत विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र साहलाई बाटोबाटै अख्तियारले पक्राउ गरेको छ । काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
डिभिजन प्रमुख प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार र साहबाट एक लाख ३० हजार रकम बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रवक्ता कोइरालाका अनुसार उक्त रकमसहित दोलखाबाट काठमाडौं जाँदै गर्दा भक्तपुरको जगाति नजिकैबाट शुक्रबार राति करिब ९ वजे उनीहरूलाई पक्राउ गरिएको हो । असार मसान्तमा योजनाको रकम घूस लिएर कार्यालयको बा १ झ ५२८० नं. गाडीमा जाँदै गरेका अधिकारीलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता कोइरालाले जानकारी दिए । अधिकारी ८ महिना अघिमात्र दोलखा आएका थिए ।