कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६
554

 सर्वोच्च अदालतले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।
लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि गरेको विज्ञापन समावेशी नभएको भन्दै सर्वोच्चमा चारवटा रिट दायर गरिएको थियो । चारवटा रिटहरुको एकैसाथ सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो । लोकसेवा आयोगले नौ हजार १६१ पदका लागि दरखास्त आह्वान गरेको थियो । सर्वोच्चको आदेशमा उक्त विज्ञापन बमोजिम चार लाख भन्दा बढीको संख्यामा दरखास्त परेको र त्यसमा समावेशीतर्फ पनि डेढ लाख बढी व्यक्तिले दरखास्त गरेकाले अन्तरिम आदेश जारी गर्नु उचित र आवश्यक नदेखिएको उल्लेख छ ।