कारोबार संवाददाता
सोमवार, असार १६, २०७६
561

रुपन्देही- श्रीलंका सरकारका बुद्ध शासन मन्त्री गमिनी जयविक्रमे परेरो बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । मन्त्री परेरासहितको टोली बुद्धभूमि लुम्बिनीमा आउँदा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्ता), कोषका आयोजना प्रमुख एवं निमित्त सदस्य सचिव सरोज कुमार भट्टराईलगायतले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा लुम्बिनीको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वका साथै लुम्बिनीमा भैरहेको विकास संरचनाका बारेमा निमित्त सदस्य सचिव भट्टराई र लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी गराएका थिए ।

मन्त्री परेराले लुम्बिनी गुरुयोजनाका बारेमा निकै रुचि दिनुका साथै बृहत्तर लुम्बिनीका बारेमा धेरै चासो राखेको निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिए । भ्रमणका क्रममा मन्त्री परेराले भगवान गौतमबुद्ध जन्मस्थलका रुपमा रहेको मायादेवी मन्दिरभित्र विश्वशान्तिको कामना साथ शिलप्रार्थना गरेका थिए भने त्यहाँ नजिकैको पुष्करणी कुण्ड, अशोक स्तम्भका बारेमा जानकारी लिएका थिए । पुष्करणी कुण्ड नजिकैको वोधिवृक्ष आडमा कोषका उपाध्यक्ष त्रिपाठीले बुद्धको मूर्ति उपहार प्रदान गरेका थिए ।
मन्त्री परेराले श्रीलंकन बुद्ध बिहार र त्यहाँ रहेको श्रीलंकन गेष्ट हाउसको समेत निरीक्षण गरेका थिए । शनिबार लुम्बिनी आएका मन्त्री परेरा आइतबार काठमाडांै फर्केका छन् । लुम्बिनी भ्रमण गर्न आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै श्रीलंकाबाट आउने गरेका छन् । सन् २०१८मा ६५ हजार श्रीलंकन लुम्बिनी आएका थिए ।