कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
1370

साधना लघुवित्तले आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
कुल निष्कासनमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा सेयर निष्काशन गर्न लागेको हो ।
गोरखामा केन्द्रीय कार्यालय रहेको लघुवित्तलाई नेपाल धितोपत्र बोर्डले यहि असार ७ गते आईपीओ निष्काशन गर्ने अनुमति दिएको थियो । २०७६ फागुन २७ गते लघुवित्तले आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।
लघुवित्तले आईपीओ निष्काशनको लागि यसअघि नै बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटललाई नियुक्त गरीसकेको छ । लघुवित्तको यस आइपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । जसले लघुवित्तको आधारहरु औषतभन्दा कमजोर रहेको जनाउँछ ।
लघुवित्तको आइपीओमा छिटोमा असार २४ गतेसम्म र उक्त समयमा पर्याप्त आवेदन नपरेमा साउन ४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ भने मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ । कम्पनीले ३२ प्रतिशत साधारण सेयर जारी गर्न लागेको हो । आईपीओ निष्कासन पछि कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव यसअघि नै पारित गरिसकेको छ ।
लघुवित्तले आईपीओ निष्कासन अगावै तनहुँको आर्थिक सम्ृद्धि लघुवित्तलाई मर्जर गरी राष्ट्रिय स्तरको कायक्षेत्र बनाएको थियो ।