कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
785

नागरिक लगानी कोषले चैत मसान्तसम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कोषको नाफामा गत वर्षको तुलनामा १२ प्रतिशत बढी खुद नाफा भएको छ । गत वर्ष तेस्रो त्रैमाससम्म ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको कोषले यस वर्ष सोहि अवधिसम्ममा ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।
यस वर्ष कोषको कुल आम्दानी ७ करोड ८५ लाख रुपैयाँ भएको छ भने कुल खर्च २० करोड २६ लाख रुपैयाँ भएको छ । कुल आम्दानी गत वर्षभन्दा २१ प्रतिशत बढी र खर्च ३४ प्रतिशत बढी भएको छ । आर्थिक वर्ष २०७४-०७५ को मुनाफाबाट २२ प्रतिशत बोनस वितरण गरि कोषले चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पु-याएको छ ।

कोषको जगेडा कोष रकम गत वर्षभन्दा ४२ प्रतिशत बढी ७ अर्ब २४ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यस अवधिसम्म कोषको जगेडा कोषमा ५ अर्ब ८ करोड ८५ लाख रुपैयाँ थियो । कोषको मुद्दती निक्षेप गत वर्षभन्दा यस वर्ष ११ प्रतिशत बढी ८५ अर्ब १४ करोड रुपैयाँ छ ।
कोषले विभिन्न कम्पनीको सेयरमा १० अर्ब १९ करोड ९४ लाख रुपैयाँ बराबर लगानी गरेको छ । यो लगानी गत वर्षभन्दा साढे ६७ प्रतिशत बढी भएको हो । धितोपत्र बजारमा आगामी साउनदेखि सहायक कम्पनी मार्फत स्टक डिलरको काम गर्ने तयारी गरेको कोषले धितोपत्रमा लगानी बढाएको छ । प्रतिसेयर आम्दानी ३१ रहेको कोषको प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।
कोषले गत आवको मुनाफाबाट २२ प्रतिशत बोनस सहित १.१६ प्रतिशत नगद लाभांश प्रस्तावसहित विविध प्रस्ताव पारित गर्न असार २० गते वार्षिक साधारण सभा गर्दैछ । यस वर्ष कोषले बोनस पश्चात कायम चुक्तापुँजीको आधारमा ८२.८४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।