कारोबार संवाददाता
सोमवार, फाल्गुन १९, २०७६
815

सेयर बजार परिसूचक नेप्से साताको पहिलो कारोबार दिन भने करेक्सन भएको छ । यद्यपि, नेप्से करेक्सन भएपनि यस दिन कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ । आइतबार नेप्से परिसूचक ४०.८२ अंक घटेर एक हजार ५९१.३६ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकमले भने गत साताको अन्तिम कारोबार दिन बनेको रेकर्ड तोडेको छ । यस दिन १८३ कम्पनीको ३९ हजार २८९ पटकको कारोबारमा ४ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ बराबरको १ करोड २५ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । गत साताको अन्तिम कारोबार दिन ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
गत साता नेप्से करिब २०० अंक बढेपछि साताको पहिलो दिन भने लगानीकर्ताहरू नाफा सुरक्षित गर्नतर्फ लागेका छन् । सोही कारण यस दिन बजारमा करेक्सन भएको लगानीकर्ताहरू बताउँछन् । यस दिन कारोबारमा आएको वित्त उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक यस दिन ०.६ प्रतिशत बढेको छ । यस दिन उत्पादन उपसमूहको परिसूचक सर्वाधिक ५.२१ प्रतिशत घटेको छ । त्यसैगरी, पछिल्लो समय उच्च दरमा बढेको जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक यस दिन ४ प्रतिशतभन्दा बढीले करेक्सन भएको छ ।
आइतबार ४ कम्पनीको कारोबार रकम २० करोड नाघेको छ । एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशियाको कारोबार रकम यस दिन २० करोड नाघेको छ । यस दिन सर्वा्धिक कारोबार हुने उत्कृष्ट कम्पनीको सूचीमा ७ वटा वाणिज्य बैंक रहेको छ । यस दिन वाणिज्य बैंकहरूको मात्रै २ अर्ब ४५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । त्यसैगरी, जीवन बिमा कम्पनीहरूको यस दिन ६० करोड ४७ लाख र निर्जीवन बिमा कम्पनीहरूको ५८ करोड ६९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । बजार ओरालो लागेपनि यस दिन दुई कम्पनीको सेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यस दिन मितेरी डेभलपमेन्ट बैंक र मञ्जुश्री फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । बोटलर्स नेपाल तराईको सेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ८५६ रुपैयाँ घटेर ७ हजार ७१२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।