कारोबार संवाददाता
बुधवार, माघ २२, २०७६
435

लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १२.०९ विन्दुले घटेर एक हजार ३३७.०४ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.९२ ले घटेर २८४.९९ मा झरेको छ ।
नेप्से ओरालो लागे पनि कारोवार रकम भने डेढ अर्बमाथि रहेको छ । कुल १ सय ७६ कम्पनीको ४९ लाख ४९ हजार १५ कित्ता सेयर १ अर्ब ५७ करोड १ लाख ६६ हजार १ सय ६३ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका कुल १२ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको मात्रै सेयर उकालो लागेको छ भने ८ समूहको सेयर ओरालो लागेको छ । विकास बैंक ५.०१, वित्त ०.६३, निर्जीवन बिमा २८.७९ र अन्य ०.९ विन्दुले बढेको छ ।

त्यस्तै बैंकिङ १३.९८, व्यापार ७.७२, होटल ७४.२३, जलविद्युत् १६.४८, उत्पादन ११.५५, लघुवित्त २२.८८, जीवन बिमा ७६.८८ र सामूहिक लगानी कोष ०.१४ ले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा मंगलबार नेपाल इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १० करोड ७० लाख ६३ हजार ५ सय ३० रुपैयाँबराबरको कारोवार भयो । नेको इन्स्योरेन्स ६ करोड १३ लाख ८४ हजार ३ सय २७ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४ करोड ५२ लाख ७ हजार २ सय ७५ रुपैयाँ, ज्योति विकास बैंक ४ करोड ४० लाख ४२ लाख ९ सय ४५ रुपैयाँ, गरिमा विकास बैंक ३ करोड ८० लाख ७९ हजार ४ सय २९ रुपैयाँ र प्रभु बैंकको ३ करोड ७५ लाख ६२ हजार १ सय ३६ रुपैयाँबराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स ९.९९, दिव्यश्वरी हाइड्रोपावर ९.६२, नेशनल हाइड्रोपावर ८.४७, नयाँ नेपाल हाइड्रो ६.४०, ज्योति विकास बैंक ५.२४ र विजय लघुवित्तका सेयरधनीले ५.०५ प्रतिशतले कमाए । यस्तै मिथिला लघुवित्त ५.२३, मल्टिपर्पाेज फाइनान्स ४.८२, महिला सहयात्रा माइक्रोफाइनान्स ४.४५, बुटवल पावर कम्पनी ४.०४, सानिमा बैंकको ऋणपत्र ३.९१ र सोल्टी होटलका लगानीकर्ताले ३.८८ प्रतिशतले गुमाए ।