कारोबार संवाददाता
सोमवार, मंसिर ३०, २०७६
1665

दश वर्षअघि कारोबार राष्ट्रिय आर्थिक दैनिक सुरु गर्दा धेरैको प्रतिक्रिया थियो, नेपालमा आर्थिक दैनिक पत्रिका पनि चल्छ र ? तर, हामीलाई विश्वास थियो, नेपालमा राजनीतिक लडाइँ छिट्टै टुंगिन्छ र देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नेछ । अनि आर्थिक क्रान्तिको बाटोमा कारोबार दैनिक नेपाली नागरिक, राजनीतिक दल तथा समाजको भरपर्दो सहयात्री बन्नेछ । राजनीतिक लडाइँको पटाक्षेप हुन केही ढिलाइ भयो, तर भएरै छाड्यो ।
अब नेपाल आर्थिक मुद्दामा अगाडि बढेको छ । संविधानसभामार्फत् देशले संविधान निर्माण गरेसँगै आवधिक चुनावले एउटा स्थिर तथा बलियो सरकार पनि प्राप्त गरिसकेको छ । यसबीच विभिन्न प्रत्यक्ष तथा अप्रत्यक्ष चुनौतीका बाबजुद नेपाली अर्थतन्त्रको पछिल्लो एक दशकको सहयात्री, साक्षी र धेरै हदसम्म पथप्रदर्शक पनि बन्ने अवसर कारोबारले पायो । यसका लागी हामी हाम्रा सहकर्मी, पाठक, नीति निर्माता, राजनीतिक दल, हाम्रा अभिभावक, विज्ञापनदातालगायत सम्पूर्णलाई धन्यवाद नदिइ रहन सक्दैनौं ।
कुनै पनि मुलुकको अर्थतन्त्र कति सबल छ भन्ने जाँच्ने एउटा प्रमुख सूचक त्यस देशमा कतिवटा आर्थिक पत्रिका छन्, तिनीहरूको अवस्था कस्तो छ भन्ने पनि हो । यस अर्थमा नेपाली बजारमा कारोबार राष्ट्रिय आर्थिक एउटा दैनिक पत्रिकामात्र नभएर नेपालको आर्थिक समृद्धि र उन्नतिको सूचक पनि हो । कुनै समय थियो जब पूर्वदेखि पश्चिमसम्म, चिया पसलदेखि सभा सम्मेलनमा राजनीतिका मात्र कुरा हुन्थे, नागरिक अधिकार तथा लडाइका कुरामात्र हुन्थे । तर, पछिल्लो एक दशकले हामीलाई एउटा स्पष्ट गन्तव्य दिएको छ । परम्परागत राजनीतिक खिचातानीबाट पर आर्थिक समृद्धि तथा समृद्ध नेपालको लक्ष्य ।
एक प्रकारले नेपालको आगामी दशकका लक्ष्य पहिल्यै तय भइसकेका छन् । अर्थात् सन् २०३० सम्म नेपाल मध्यम आयको देश बन्नुपर्ने छ । अनि यही दशकमा नै दीगो विकासका लक्ष्य भेट्न पनि आवश्यक छ । अर्कोतर्फ नेपालले सन् २०२२ सम्ममा अल्पविकसित मुलुकको समूहबाट विकासशील राष्ट्रको समूहमा स्तरोन्नति हुन पनि केही वर्षमात्र बाँकी छ । त्यसैले अबको दशकमा नेपालका आन्तरिक तथा वाह्य प्रतिबद्धता पूरा गर्नमात्र नभएर एउटा सार्वभौमसत्ता सम्पन्न तथा आत्मनिर्भर अर्थतन्त्र बनाउन पनि आर्थिक मुद्दामा बढी केन्द्रित हुन राजनीतिक दलहरूले आफ्नो परम्परागत मनोविज्ञान तथा नीति एवं लक्ष्य परिवर्तन गर्ने आशा गर्न सकिन्छ । राजनीतिक दलले निजी क्षेत्रसँग सहकार्य गरेर विकास तथा समृद्धिका लागि आवश्यक लगानीको व्यवस्थापन गर्न, देशमा उपलब्ध प्राकृतिक स्रोत तथा साधन अनि युवा जनशक्तिलाई देश विकासको एउटै कार्ययोजनामा समेट्न तथा गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी गर्न प्रोत्साहन गर्न आवश्यक छ ।
५० वर्षअघि नेपालकै हाराहारीमा रहेका जापान तथा कोरियाजस्ता देश आज विश्वका विकसित देशका सूचीमा पर्दछन् भने नेपालले आगामी एक दशकमा कोल्टे फेर्न नसक्ने कुनै कारण छैन । तर आवश्यकता छ त केबल राजनीतिमा आर्थिक पारदर्शिता, दृढ इच्छाशक्ति तथा कठोर अनुशासनको । विश्वमा एउटै पुस्तामा विकसित भएका धेरै देश छन्, त्यसैले आगामी दशक समृद्ध नेपालको दशक बन्नेमा कुनै शंका छैन । कारोबार राष्ट्रिय आर्थिक दैनिक विगत एक दशकमा झैं आगामी दशकमा पनि नेपाली अर्थतन्त्रको सहयात्री, साक्षी र धेरै हदसम्म पथप्रदर्शक बन्ने प्रतिबद्धता पुनः व्यक्त गर्दछौं ।

भवन भट्ट
अध्यक्ष, टीबीआई पब्लिकेसन्स प्रालि