कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
379

साताको दोस्रो दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ०.९७ अंकले बढेर ११४०.२६ अंकमा पुगेको छ ।
नेप्सेको कारोबार मापक सूचक बढेसँगै सेन्सेटिभ इन्डेक्ससमेत ०.०४ अंकले सूचक बढेर २५०.५१ अंकमा पुगेको छ । कारोबारको सुरुवात देखिनै बजार सुधार उन्मुख देखिएको भए पनि त्यो वृद्धि भने टिकाउ हुन सकेन । कारोबार अबधिभर नै सूचक घटेको थियो । तर, अन्तिम समयमा बजार सूचक सकारात्मक भएर कारोबार बन्द भएको हो ।

कारोबार मापक सूचक बढेको भए पनि दिनभरिनै कारोबार रकममा भने उत्साह देखिएन । पछिल्लो समय सेयर कारोबारमा आउने लगानीकर्तामा उत्साह देखिएको छैन । लगानीकर्ताले कारोबार नगरेकै कारण कारोबार रकमसमेत घट्दै गएको हो । लगानीकर्ताहरूले ब्याजदर नघटेको, अन्य व्यापार व्यवसायसमेत नचलेको, सम्पत्ति शुद्धीकरणलगायतका विषयले उनीहरूको बजार प्रतिआकर्षण घटेको बताउँछन् ।
सेयर बजारप्रति लगानीकर्ताको आकर्षण घट्दा कारोबार रकम करिब २० करोड रुपैयाँमा खुम्चिएको छ । सोमबार १ सय ६३ कम्पनीका ७ लाख ५९ हजार कित्ता सेयर १९ करोड १८ लाख रुपैयाँमा कारोबार भयो ।
सबैभन्दा बढी नबिल बैंकको १ करोड ९८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नबिल बैंकले राम्रो प्रतिफल घोषणा गरेका कारण सेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।
उसले ३४ प्रतिशत लाभांश घोषणा गरेको छ । सोमबार उसको प्रतिसेयर मूल्य ७ सय ८६ रुपैयाँमा उक्लिएको छ । प्रभु बैंकको दोस्रो बढी कारोबार भयो । उसको १ करोड ६१ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो ।
सोमबार ११ समूहको सेयर कारोबार भयो जसमा चार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेका हुन् । जलविद्युत उपसमूहको परिसूचक यस दिन १.८४ प्रतिशत बढेको छ । म्यचुअल फन्ड ०.६४ प्रतिशत, लघुवित्त ०.३८, निर्जीवन बिमाको ०.३५, होटलको ०.३१, जीवन बिमा ०.०६ र उत्पादन तथा प्रशोधन ०.०४ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक यस दिन ०.३८ प्रतिशत, वित्त ०.१८, बैंकिङ ०.०९ र विकास बैंकको ०.०५ प्रतिशतले घटेको छ ।