कारोबार संवाददाता
सोमवार, भदौ ९, २०७६
1081

धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आइतबार पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ ।
नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ ।

कुल १७१ कम्पनीको १२ लाख ७५ हजार ६२३ कित्ता सेयर ३५ करोड २ लाख ६९ हजार ५ सय ९ रुपैयाँमा खरिद बिक्री भए । स्टकका अनुसार नेप्से आइतबार अपराह्न २ बजेसम्म घटेर एक हजार २०१ विन्दुमा झरे पनि त्यसपछि भने पुनः बढेर एक हजार २०९.६२ विन्दुमा पुग्यो ।
स्टकका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार दुई उपसमूहको मात्रै सेयर उकालो लाग्यो भने दश उपसमूहको सेयर घटेको छ । होटल ३.०४ र उत्पादन ११.३ विन्दुले बढ्दा बैंकिङ १.६६, व्यापार २.०३, विकास बैंक २.२१, जलविद्युत् १५.१४, वित्त ०.६, निर्जीवन बिमा ३१.३२, अन्य ०.०७, लघुवित्त ४.२, जीवन बिमा ५१.०७ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा छिमेक लघुवित्त विकास बैंकको संस्थापक सेयरको सबैभन्दा बढी कारोबार भएको छ । सो बैंकको ३ करोड २१ लाख ३० हजार ८ सय रुप्ैयाँमा सेयर खरिद बिक्री भए । यस्तै नेपाल बैंक लिमिटेड २ करोड ४१ लाख ५३ हजार ४ सय ३३, नेसनल लाइफ इन्स्योरेन्स १ करोड ९५ लाख ७८ हजार २ सय ४३ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंक १ करोड ५२ लाख ८९ हजार ५ सय ३२ रुपैयाँ, एनआईसी एसिया १ करोड ४६ लाख ३७ हजार ५ सय ३९ र माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको सेयर १ करोड १० लाख ५८ हजार २ सय ३ रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आइतबार बढी कमाउनेमा सिर्जना फाइनान्स वित्तीय संस्था छ । सो कम्पनीका सेयरधनीले ४.२१ प्रतिशतले कमाउँदा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ३.३४, सिन्धु विकास बैंक ३.१३ रुपैयाँ, स्वरोजगार लघुवित्त विकास बैंक ३.०१, गुराँस लघुवित्त वित्तीय संसथा २.९२ र बोटलर्स नेपाल तराई लिमिटेडका सेयरधनीले २ प्रतिशतले कमाए ।
यस्तै धेरै गुमाउनेमा पाँचथर पावर कम्पनी छ । सो कम्पनीका सेयरधनीले ७.२० प्रतिशतले गुमाए । त्यस्तै युनिभर्सल पावर कम्पनी ४.८१, आईएमई जनरल इन्स्योरेन्स ३.५६, नेसनल हाइड्रोपावर कम्पनी ३.३८, खानीखोला हाइड्रोपावर ३.३८, दिव्यश्वरी हाइड्रोपावर ३.३३ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३ प्रतिशतले गुमाए ।