कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
2220

सेयर बजारमा पुँजीगत लाभकर गणना विधिका कारण नैरास्यता देखिएपछि अर्थ मन्त्रालयले समस्या समाधान गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । सेयर बजारलाई प्रभावित पारिरहेको भन्दै अर्थ मन्त्रालयले आवश्यक निकास दिन निर्देशन दिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए ।
अर्थ मन्त्रालयले बुधबार बोर्डलाई पत्र लेख्दै पुँजीगत लाभकर गणना विधिमा देखिएको समस्या तीन दिनभित्र समाधान गर्न निर्देशन दिएको जनाएको छ । बुधबार साँझ अर्थ मन्त्रालयले बोर्डलाई पत्र लेख्दै तीन दिनमा यो समस्या समाधान गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

साउन ८ गते सबै निकायका प्रतिनिधिबीच धितोपत्र बोर्डमा बसेको बैठकको निर्णय अनुसार भारित औसत निकालेर त्यसैका आधारमा पुँजीगत लाभकर गणना गर्न मन्त्रालयले सुझाएको छ । साउन ८ गतेको बैठकमा २०५८ असार मसान्तदेखि २०७६ असार मसान्तसम्म भएको हरेक दिनको भारित औसत निकालेर त्यसैका आधारमा पुँजीगत लाभकर गणना गर्ने निर्णय भएको थियो ।
गत साता पनि लगानीकर्ता र सरोकारवाला निकायसहितको छलफलमा अर्थ मन्त्रालयले बोर्डलाई निकास निकाल्न मौखिक निर्देशन दिएको थियो । मन्त्रालयको आशय बुझेर धितोपत्र बोर्डले पनि गणना विधि तयार गर्न नेप्सेलाई निर्देशन दिएको थियो । नेप्सेको सञ्चालक समितिले पारित गरेर बोर्डलाई पठाएपछि उक्त गणनाविधीको खाका बोर्डमा लैजाने र छलफल गरेर पुँजीगत लाभकरको गणना विधि कार्यान्वयनमा ल्याउने बोर्डले तयारी गरेको छ ।
विगत एक वर्षदेखि चलिरहेको पूँजीगत लाभकरको विवादले सेयर बजारलाई असर गरिरहेकाले चालू आर्थिक वर्षको बजेटले टुंग्याउने अपेक्षा गरिएकोमा गणना विधि नै झन् व्यवहारिक नभएको तथा पुरानै कागजी विधीमा फर्किएको भन्दै लगानीकर्ताले विरोध गरेका छन् । बजेट तथा आर्थिक ऐनमा पुँजीगत लाभकरको गणना भारित औसत लागतका आधारमा गणना गरिने व्यवस्था भएकोमा लगानीकर्ताले आफैंले आफ्नो भारित औसत निकाल्नका लागि कागजी काम बढी गर्नुपर्ने तथा सेयर ब्रोकरले पनि ऐनमा कट अफ डेट नतोकिँदा लाभकरको गणना गर्न नसक्ने जनाएपछि समस्या उल्टै लम्बिएको छ ।
यस्तै करको विषय आन्तरिक राजस्व विभाग तथा मन्त्रालयअन्तर्गत पर्ने बोर्डको जिकीर छ । तर मन्त्रालयले आफूप्रति हुने विरोध बोर्डतर्फ पन्छाउन खोज्दा लाभकरको विषय लामो समयसम्म अनावश्यकरूपमा लम्बिएको हो । यसले सेयर बजारमा भने लगानीकर्तालाई निरुत्साहित बनाउँदै आएको छ ।


सातामा धेरै पढिएको