कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६
367

मंगलबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अंकले वृद्धि भएर १ हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अंकले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने न्यून रह्यो । क्ुल १ सय ७१ कम्पनीका १० लाख १३ हजार ७ सय ९४ कित्ता सेयर २९ करोड ४३ लाख ५ हजार २३ रुपैयाँमा खरिद बिक्री भए ।
कारोबार भएका कुल १२ मध्ये ४ उपसमूहको सेयर घटेको भने आठ उपसमूहको सेयर वृद्धि भएको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बिमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले घटेको छ । बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बिमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अंकले बढेको छ ।

कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक सेयर मंगलबार शीर्ष स्थानमा रह्यो । उक्त बैंकको ३ करोड १६ लाख ६२ हजार ८ सय २० मा खरिद बिक्री भयो । नेपाल बैंकको १ करोड ५६ लाख २३ हजार ६ सय ७९ रुपैयाँ, प्रभु बैंकको १ कारोड ४२ लाख ६७ हजार ३ सय २७ रुपैयाँ, कृषि विकास बैंकको १ करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको १ करोड २४ लाख ८५ हजार ६ सय ५० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
युनाइटेड इन्स्योरेन्सका सेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ८.५५ प्रतिशतले कमाए ।
यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका सेयरधनीले २.८५ प्रतिशतले गुमाए । स्टकमा मंगलबार मितेरी डेभलपमेन्ट बैंकको ८ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता सेयर लाभांश सूचीकृत भएको छ । त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता सेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ ।