कारोबार संवाददाता
आइतवार, श्रावण १२, २०७६
347

धितोपत्र बजारमा यस साता करिब २ अर्ब रुपैयाँबराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कुल १७१ कम्पनीको ७१ लाख ९२ हजार ७ सय ६४ कित्ता सेयर १ अर्ब ९७ करोड ७७ लाख ९४ हजार ९ सय ३४ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
गत बिहीबार कारोबार मापक नेप्से परिसूचक १ हजार २७२.४९ बिन्दुमा पुगी बन्द भएको बजार यस साताको अन्तिम दिन अर्थात् बिहीबार एक हजार २६९.९२ मा पुगी बन्द भयो । यस आधारमा हेर्दा साताभर नेप्से २.५७ बिन्दुले घटेको छ ।

साताको पहिलो दिन नेप्से परिसूचक ३.७५ बिन्दुले घटेर १ हजार २६८.७४ बिन्दुमा पुग्यो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५३ ले घटेर २७३.३० मा पुग्यो । कुल १६६ कम्पनीको ११ लाख १९ हजार ५ सय ६३ कित्ता सेयर २९ करोड ८१ लाख ५७ हजार १ सय १६ रुपैयाँमा खरिद बिक्री भए ।
सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको थियो । सो दिन नेप्से परिसूचक २.४८ विन्दुले बढेर १ हजार २७१.२३ विन्दुमा पुग्यो । नेप्से उकालो लाग्दा कुल १६६ कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४ सय २१ रुपैयाँमा खरिद बिक्री भए ।
मंगलबार नेप्से परिसूचक करिब ६ अंकले उकालो लाग्यो । सो दिन कारोबार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर १ हजार २७७.१७ बिन्दुमा पुग्यो । परिसूचक बढे पनि मंगलबार कारोबार रकम भने उल्लेख्य रूपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । कुल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता सेयर ३६ करोड ८९ लाख ८० हजार ८ सय ६० रुपैयाँमा खरिद बिक्री भए ।
बुधबार कारोबार मापक नेप्से परिसूचक उकालो लाग्यो । सो दिन परिसूचक ६.९० अंकले बढेर १ हजार २८४.०७ मा पुग्यो । परिसूचक बढे पनि कारोबार रकममा उत्साह देखिएन । कुल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता सेयर ४४ करोड ३४ लाख ८१ हजार ३ सय ९१ रुपैयाँमा खरिद बिक्री भए ।
गणपति माइक्रो फाइनान्स वित्तीय संस्थाका सेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.६८ प्रतिशतले कमाए ।
चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि सेयर कारोबारमा गुणात्मक सुधार आउने अपेक्षामा रहेका लगानीकर्ता बिहीबार निराश भए । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
सो दिन नेप्से परिसूचक १४.१५ अंकले घटेर १ हजार २६९.९२ मा पुगेको छ । प्रतिशतका आधारमा आज परिसूचक १.१० प्रतिशतले घटेको हो । यस्तै ठूला कम्पनीका सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.६६ अंकले घटेर २७३.४७ मा पुगेको छ । परिसूचक ओरालो लागे पनि कारोबार रकममा भने सुधार देखियो । कुल १७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँमा खरिद बिक्री भए ।