कारोबार संवाददाता
आइतवार, श्रावण १२, २०७६
1659

वर्षभरिमा जम्मा १६ वटामात्रै कारोबार

मौद्रिक नीति २०७६-७७ ले वाणिज्य बैंकहरूले २०७७ असार मसान्तभित्र चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी बैंकहरूले जारी गरेको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्नसक्ने व्यवस्था गरिने समेत नीतिले जनाएको छ । तर, धितोपत्र बजारको एउटा प्रमुख बजारको रूपमा चिनिने डिबेञ्चर मार्केटले भने विगत दुई दशकभन्दा बढीमा अझै पनि गति लिन सकेको छैन । वित्तीय प्रणालीको अस्थिर ब्याजदर तथा सीमित व्यक्ति वा संस्थाको मात्र सहभागिता रहने भएकाले पनि डेब्ट मार्केट शून्य अवस्थामा रहेको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सञ्चालन गर्दै आएका डेब्ट मार्केटमा वार्षिक एक दर्जन कारोबार पनि हुन नसकेको अवस्था छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नेप्सेमा डिबेञ्चरको १६ वटामात्र कारोबार भएका छन । गत आर्थिक वर्षको ३ वटा कारोबार भएकोमा अघिल्लो आर्थिक वर्षमा पनि ३ बटा माज्ञ डिबेञ्चर कारोबार भएको छ । आर्थिक वर्ष २०७१-७२ मा डिबेञ्चरको एउटामात्र कारोबार भएको छ ।

धितोपत्र बजारमा ऋणपत्रको कारोबार गर्ने संस्कारको विकास नभएकाले पनि न्यून कारोबार हुने गरेको नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले बताए । “अन्तराष्ट्रिय बजारलाई हेर्दा नेप्सेमा सूचिकृत भएजति डिबेञ्चर एक दिनमा आउने गरेको देखिन्छ,” पराजुलीले भने, “हाम्रोमा डिवेञ्चरको प्राथमिक बजार नै चलाइमा छैन ।” जति ऋणपत्र निष्कासन हुन्छ त्यसमा पनि अधिकांश संस्थागत लगानीकर्ताले होल्ड गर्ने भएकाले पनि कारोबार न्यून हुने गरेको उनी बताउँछन् । डिबेञ्चरको कारोबार बढाउनका लागि धेरैभन्दा धेरै सर्वसाधारणको हातमा डिबेञ्चर पुग्नुपर्ने उनी बताउँछन् ।
संस्थागत तथा सरकारी ऋणपत्र सूचिकृत भएको भएपनि प्रतिफल निश्चित तथा अन्य क्षेत्रको तुलनामा थोरै हुने भएकाले पनि कारोबार बढ्न नसकेको हो । ऋणपत्रमा लगानी गरेका लगानीकर्ताले कारोबार गर्न परेमा प्रतिफललाई नहेरी तत्कालको नगद समस्या समाधानका लागि मात्र कारोबार गर्ने गरेको देखिन्छ । नगदको समस्या समाधान गर्ने डिबेञ्चर बिक्री गर्ने अधिकांश व्यक्तिगत लगानीकर्ता रहेको नेप्सेले जनाएको छ । संस्था वा सरकारी ऋणपत्रमा लगानी गर्दा नै संस्थागत लगानीकर्ता धेरै हुने गर्छन् । डिबेञ्चरको सार्वजनिक निष्कासन गर्दा नै ८० प्रतिशत संस्थालाई र २० प्रतिशत व्यक्तिलार्ई भनेर छुट्याइएको हुन्छ । यसरी छुट्याइएको ऋणपत्रमध्ये कुनै एक पक्षको पूरा बिक्री नभएमा अर्को पक्षलार्ई बिक्री गर्न सकिने प्रावधान पनि छ ।
यसले गर्दा पनि संस्थागत लगानीकर्ता समान्य अवस्थामा डिबेञ्चर बिक्री गर्दैनन् । डिबेञ्चरमा लगानी गरेको खण्डमा कारोबार गरेर बजारको मार्जिनभन्दा पनि परिपक्व अवधिसम्म आउने निश्चित प्रतिफलका लगानी लगानी गर्ने प्रचलन छ । अस्थिर ब्याजदर तथा ब्याजको ‘इल्ड’ पनि नबनेको हुनाले डिबेञ्चरको कारोबार हुनु नसकेको हो ।
डिबेञ्चर मार्केट चलाईमा नभएकाले नीतिगत व्यवस्थाहरू पनि विस्तृतमा छैनन् । बजार चलाइमा भएको खण्डमा नियामकलाई पनि विस्तृत रूपमा नीति ल्याउन दबाब पर्ने उल्लेख गर्दै पराजुलीले भने, “डिबेञ्चर बजारको सन्दर्भमा नीतिगत व्यवस्था बजारअनुसार भइरहेको छ ।” विगतका दिनमा नेप्सेले म्यानुअल रूपमा कारोबार गराउने डिबेञ्चर अहिले नयाँ कारोबार प्रणालीमा धितोपत्र दलालको मार्फत सिधै कारोबार गर्न सकिने व्यवस्थासमेत गरेको छ । नेप्से डिबेञ्चर बजारलाई पनि आवश्यक प्लेटफर्म दिएको उनले बताए । सर्वसाधारणको सहभागिता बढाएर प्रतिफल पनि वित्तीय प्रणालीको ब्याजदरभन्दा धेरै हुने व्यवस्था गर्न सकेको खण्डमा डिबेञ्चर मार्केट चलायमान हुनसक्ने पराजुलीको तर्क छ । त्यसका लागि आवश्यक पूर्वाधार नेप्सेले तयार गरेरको समेत उनले दावी गरे ।