कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६
585

नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेप्से अनलाइन टे«डिङ सिस्टम(नट्स)मा समस्या नभएको दाबी गरेको छ । टे«डिङ म्यानेजमेन्ट सिस्टममा केही समस्या देखिएको भए पनि समाधान भइसकेको नेप्सेले जनाएको छ ।
धितोपत्र दलाल, बैंकलगायतका अन्य पार्टीहरू पनि कारोबार प्रणालीमा जोडिएको हुँदा अन्यको समस्यामा पनि नट्समा नै समस्या आएको भन्ने गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । नेप्सेसँग जोडिएका अन्य पार्टीका कारण देखिएको प्राविधिक तथा मानवीय कमजोरीलाई पनि नेप्सेको कारोबार प्रणालीले गर्दा भन्नु वा समग्र नेप्सेको कारोबार प्रणालीमा समस्या आयो भन्न उयुक्त नहुने साउदको भनाइ छ । नेप्सेको अनलाइन कारोबार प्रणाली अन्तर्राष्ट्रिय स्तरको भएको बताउँदै उनले भने, “नयाँ प्रणालीमा अभ्यस्त नभएकाले देखिएका समस्यालाई पनि अनलाइन कारोबार प्रणालीसँग जोड्न हुँदैन ।”

नेप्सेले अनलाइन प्रणाली सुरु गरेको ८ महिनामा १० वटा समस्या देखिएको र त्यसलाई पनि समाधान गरिसकेको जनाएको छ । कारोबार प्रणालीमा डाटा डिस्प्ले, युनिक क्लाइन्ट कोड (यूसीसी), पुरानो लगानीकर्ताको केवाइसी अपडेट, डीएनए लगिङ, नयाँ सूचीकरण भएको कम्पनीको पहिलो दिनको कारोबार, जिटीसी अर्डर मोडिफिकेसन, सीडीएससीसँग प्रणाली इन्ट्रिग्रेसन, क्लियरिङ बैंकसँग इन्ट्रिग्रेसन, प्रणाली सञ्चालनमा ब्रोकरहरूको अभ्यस्तता र ब्रोकरको प्रणालीमा फ्लोरसिट डिस्प्ले जस्ता समस्या देखिएको भए पनि सबै समस्याको समाधान भइसकेको नेप्सेले जनाएको छ ।
नेप्सेले अनलाइनका बारेमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा अनलाइन सुरु भएपछि करिब २ लाख ९४ हजार लगानीकर्ताले मात्र आफ्नो विवरण अध्यावधिक गराएका छन् । अनलाइन प्रणाली सुरु भएयता ११ हजार २ सय ४६ जना लगानीकर्ताले अनलाइन युजर लिएर दोस्रो बजारमा कारोबार गरेका छन् ।
नेप्सको आईटी प्रमुख निरञ्जनसिंह नायकले सेयर बजारमा १ लाख २१ हजार २ सय १० जना सक्रिय लगानीकर्ता रहेकामा ११ हजार २ सय ४६ जनाले मात्र अनलाइन युजर लिएको बताए । यसरी अनलाइन युजर लिनेमा उपत्यका बाहिरका बढी रहेको नेप्सेले जनाएको छ । अहिले सेयर बजारमा १३ लाख २३ हजार ९ सय २६ जना लगानीकर्ता रहेको उनको भनाइ छ ।
चालू आर्थिक वर्षको ११ महिना १५ दिनमा भएको ७७ अर्ब ७४ करोड ७ लाख रुपैयाँबराबरको कारोबारमध्ये १० अर्ब ६० करोड ३४ लाख रुपैयाँबराबरको सेयर कारोबार अनलाइन प्रयोगकर्ताले गरेका छन् । चालू आवको यो अवधिमा १० लाख ६ हजार ३ सय ८६ मध्ये १ लाख ४५ हजार ६ सय १७ कारोबार अनलाइन प्रयोगकर्ताले गरेका छन् ।
१० कारोबार दिनमा १० हजारभन्दा बढी संख्यामा कारोबार भएको छ भने अधिकतम दैनिक कारोबार संख्या १६ हजारसम्म पुगेको नेप्सेले जनाएको छ । नेप्सेले गत कात्तिक २० गतेबाट अनलाइन प्रणाली सञ्चालनमा ल्याएको हो ।