कारोबार संवाददाता
सोमवार, असार ९, २०७६
735

निर्देशिका पूर्णपालनाका लागि धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई निर्देशनसमेत दिइसकेको छ ।

धितोपत्र दलाल कम्पनीमाथि कडाइ
१० लाखमाथि कारोबार गर्नेको विवरण वित्तीय जानकारी इकाइमा


धितोपत्र दलाल कम्पनीले एक दिनमा वा एकै पटक १० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार गर्ने लगानीकर्ताको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने भएको छ । धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिका पूर्णकार्यान्वयन गर्न निर्देशन दिएपछि १० लाखमाथिको कारोबार विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्ने भएको हो ।
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निर्देशिका २०७६ लाई आगामी साउनदेखि पूर्ण कार्यान्वयन गर्ने भएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन, नियमावली र निर्देशनको व्यवस्थाको प्रभावकारी कार्यान्वयन नगर्ने संस्था र कर्मचारी तथा पदाधिकारीलाई ऐन बमोजिमको सचेत गराउने तथा १० लाखदेखि पाँच करोड रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ । त्यसका साथै निर्देशिकाले ऐन नियमको पालनका नगर्ने संस्थाको हकमा संस्थाको दर्ता खारेजसम्मको कारबाही गर्ने व्यवस्था गरेको छ ।
निर्देशिका पूर्णपालनाका लागि धितोपत्र बोर्डले धितोपत्र दलाल कम्पनीलाई निर्देशनसमेत दिइसकेको छ । धितोपत्र तथा वस्तु बजारसम्बन्धी व्यवसायलाई पारदर्शी बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई दुरुत्साहन तथा नियन्त्रण गर्न बोर्डले निर्देशिका लागू गरेको जनाएको छ ।
निर्देशिकाले जोखिममा आधारित आन्तरिक नीति, कार्यविधि तथा कार्य, ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने तरीका, उच्चपदस्थ व्यक्तिको पहिचानमा अवलम्बन गर्नुपर्ने उपाय, वास्तविक धनी पहिचान गर्ने, जोखिम व्यवस्थापन र मूल्यांकनको अधार, वृहत् तथा सरलीकृत ग्राहक पहिचान गर्ने तरीका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । निर्देशनले धितोपत्र बजारमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा ऐनले निर्दिष्ट गरेको व्यवस्थालाई कार्यान्वयन गर्न समेत सहज गरेको धितोपत्र बोर्डले जनाएको छ ।
धितोपत्रसम्बन्धी कारोबार गर्ने संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुनको कार्यान्वयन र त्यससम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने व्यवस्था निर्देशिकामा छ । त्यस्ता संस्थाले ग्राहकको पहिचान तथा सो को सम्पुष्टि गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । उच्च पदस्थ व्यक्तिको विशेष पहिचान गर्दा थप उपायसमेत अवलम्बन गर्नुपर्नेछ ।
कारोबार गर्ने संस्थाले वास्तविक धनीको पहिचान गर्दा वास्तविक धनी पहिचान गर्ने संयन्त्र बमोजिमको व्यवस्था मिलाउनुपर्ने तथा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यावसायिक सम्बन्ध वा कारोबार समाप्त भएको मितिले पाँच वर्षसम्म राख्नुपर्नेछ । निर्देशिका अनुसार धितोपत्र कारोबार गर्ने संस्थाले जोखिमको पहिचान, मूल्यांकन तथा व्यवस्थापन गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धमा अध्ययन तथा अनुसन्धानको प्रतिवेदन, क्षेत्रगत जोखिम मूल्यांकनसम्बन्धी प्रतिवेदन, व्यावसायिक सम्बन्ध, सीमा र प्रकृति, ग्राहकसम्बन्धी जोखिम हुनसक्ने तत्वहरू र जोखिम सापेक्ष अन्य विषयलाई समेत आधार लिनुपर्नेछ ।
जोखिमलाई उच्च, मध्यम, न्यून वर्गमा वर्गीकरण गरी समीक्षाका आधारमा थप वर्गीकरण गर्न सक्ने व्यवस्था समेत निर्देशिकामा छ । जोखिम मूल्यांकन गर्दा उच्च जोखिम देखिएका ग्राहकको हकमा वृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्ने तथा जोखिमका आधारमा कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचानसम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
धितोपत्र कारोबार गर्ने संस्थाले साउनदेखि ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजात रुजु गर्ने जिम्मेवारीसहित कर्मचारी तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता रुजु गराई राख्नुपर्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । कारोबार गराउने संस्थाले शंकास्पद कारोबारसम्वन्धी प्रतिवेदन वित्तीय जानकारी इकाईमा दिनुपर्नेछ । त्यसैगरी खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्नेछ ।