दीननाथ बराल
आइतवार, असार ८, २०७६
951

२५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले अनलाइनबाट सेयर कारोबार गर्दैनन् : सीईओ साउत


नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउतले अनलाइन सिस्टमा जादा सेयर कारोबार गर्नुभन्दा पहिले नै २५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले केही सेयर लगानी कर्ताले अझै पनि अनलाइनमा नगएको बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित सेयर बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सीईओ साउतले अनलाइन सिस्टमा जाँदा सेयर कारोबार गर्नुभन्दा पहिले नै २५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले गर्दा यदाकदा सेयरमा फाइदा लिनेहरू नै अझै पनि अनलाइन सिस्टमा नगएको दाबी गरेका हुन् ।
अनलाइनमा जाँदा अडरको प्रमाण पनि हुने भोलि सेयर कारोबारमा कुनै समस्या आएमा अडर गरेअनुसार रकम तिर्न बाध्य हुने भएकाले गर्दा अनलाइनमा केही जान अझै नमानेको उनले जिकिर गरे । उनले भने, “अनलाइन सिस्टमा जानु भनेको पारदर्शिता र छिटो छरिताको सेवाको लागि हो, यो सिस्टममा अब हामी जानै पर्छ, कहिलेकाहीँ प्राविधिक समस्या आयो भन्दैमा अनलाइनमा नजानु राम्रो हुँदैन् ।”
अनलाइन सेवाअन्तर्गत हाल मोबाइलबाटै समेत सेयर कारोबार गर्न सकिने मोबाइलबाटै रकम लेनदेन गर्न सकिने सुविधा भएको सीईओ साउतले जनाए । हाल १५ लाख नेप्सेमा लगानी कर्ता भएको उनले जनाए । करिब १३ हजार जनाले पुँजीबजारमा कारोबार गर्ने गरेको सीईओ साउतले बताए । २ लाख जनाले केवाइसी अपडेट गरेको उनले जनाए ।
लगानी कर्तालाई कसरी लगानी गर्ने भन्ने विषयमा यसको सचेतना आवश्यक भएको बताउँदै सीईओ साउतले ब्रोकर नभएको ठाउँमा बढी सेयर कारोबार हुने गरेको जनाए । उनले अफलाइनमा हुने गरेको सेयर कारोबारको पनि नियमन गर्ने जनाए ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नेपालको अर्थतन्त्रको करिब ५० प्रतिशत जसो सेयर मार्केट रहेको बताए । उनका अनुसार नेपाली सेयर मार्केट १६ खर्ब ३२ अर्ब छ । सम्पन्न देशमा भने देशको अर्थतन्त्र भन्दा सेयर मार्केट बढी हुने गरेको उनले जनाए । देशमा हाल २ सय १३ कम्पनी रहेको जनाएका प्रवक्ता पराजुलीले २२ वटा सहरहरूमा सेयर कारोबार गर्ने कम्पनी वा ब्रोकर पुगेको जनाए जसमा करिब १ सय ५० वटा बैंक तथा वित्तीय संघ–संस्थाहरू रहेका छन् ।
उनका अनुसार गत वर्ष काठमाडौं बाहिर १० प्रतिशतजसो सेयर कारोबार भएको थियो भने यस वर्षको ११ महिनामै करिब २० प्रतिशत जसो पुग्न लागेको जनाए । बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ला हुने सेयर मार्केटमा दैनिक ३० करोडदेखि २ अर्बसम्मको कारोबार हुने गरेको बताइन्छ । देशको अर्थतन्त्र र राजनीतिक अवस्थासँग सेयर कारोबार जोडिन्छ ।
नेप्सेका बरिष्ठ आईटी अधिकृत प्रभाकर घिमिरेले २०६७ सालदेखि डिम्याट सिस्टम लागू भएको बताउँदै २०७२ सालदेखि पूर्णरूपमा डिम्याटबाट सेयर कारोबार हुँदै आएको बताए । सेयर बजारको जोखिम न्यूनीकरण गर्नका लागि ब्रोकरको आवश्यकता भएको उनले जनाए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सेयर बजारसम्बन्धी सचेतना तथा छलफल कार्यक्रम पोखरेली सञ्चारकर्मीको लागि निकै फलदायी भएको बताए । कार्यक्रममा पोखरामा कार्यरत करिब ५० जना सञ्चारकर्मीको सहभागिता थियो ।