कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
943

धितोपत्र बजारले स्वीकार गर्ने–नगर्ने दोधारमा रहेको सामूहिक लगानी कोषको खुलामुखी योजनाले साना लगानीकर्तालाई आकर्षित गर्न सफल भएको छ । खुलामुखी योजनाप्रति सर्वसाधारणको चासोले समग्र धितोपत्र बजार परिपक्कता उन्मुख रहेको स्पष्ट भएको छ ।
गत जेठ १९ गतेदेखि निष्कासन तथा बिक्री खुला भएको एनआईबीएल सहभागित फन्डमा सोमबारसम्ममा करिब १० हजार व्यक्तिगत लगानीकर्ता सहभागी भएका छन् । एनआईबीएल एस क्यापिटलले धितोपत्र बजारमै दोस्रो पटक सुरु गरेको सामूहिक लगानी कोषको खुलामुखी योजनामा आगामी असार १६ गतेसम्म लगानी गर्न सकिनेछ । धितोपत्र बजारमा यसभन्दा अघि एनआईडीसी क्यापिटल मार्केट्सले सञ्चालन गर्न खोजेको भए पनि सफल हुन सकेको थिएन ।

नेपाल धितोपत्र बोर्डले ५० करोडसम्मको पुँजी एनआईबीएल सहभागिता फन्डले सर्वसाधारणबाट संकलन गर्न सक्ने भए पनि २० करोड संकलन भएपछि बिक्री बन्द गर्न सक्नेछ । हालसम्म सो योजनामा ७ करोड २० लाख रुपैयाँभन्दा धेरैको आवेदन आइसकेको छ । सो योजनामा बीउ पुँजीका रूपमा नेपाल इन्भेस्टमन्ट बैंक र एनआईबीएल क्यापिटलले गरेर ७ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछ । अब सो योजना लागि न्यूनतम ५ करोड रुपैयाँ संकलन भएको खण्डमा बिक्री बन्द गर्न सक्ने व्यवस्था छ ।
सोमबारसम्ममा संस्थागत लगानीकर्ताको सहभागिता निकै न्यून रहेको एनआईबीएल एस क्यापिटलका प्रबन्धक मेखबहादुर थापाले बताए । “सोमबारसम्म करिब १० हजार आवेदन आएका छन्,” उनले भने, “ती आवेदनमध्ये अधिकांश व्यक्तिगत लगानीकर्ताको छ ।” एनआईबीएल सहभागिता फन्डमा १ हजारदेखि १ लाखसम्म लगानी गर्ने लगानीकर्ता धेरै रहेको थापाले जानकारी दिए । संस्थागत लगानीकर्ताले अन्तिम दिनमात्र आवेदन दिने भएकाले पनि अहिले थोरै आवेदन आएको उनको बुझाइ छ ।
धितोपत्र बजारका लगानीकर्ताले सकारात्मक रूपमा नै लिएको भए पनि बिक्री खुला गरेपछिको समयमा सार्वजनिक बिदा धेरै परेको हुनाले आवेदन कम आएको थापाले जानकारी दिए । सो योजनामा लगानीकर्ताले अधिकतम २५ लाख रुपैयाँसम्म लगानी गर्न सक्छन् । यो योजनामार्फत संकलन भएको अधिकांश रकम इक्युटी मार्केटमा लगानी हुनेछ । तर, यो योजनाका एकाइ धनीले जुनसुकै बेला पनि बिक्री गर्न सक्ने भएकाले व्यवस्थापकले केही नगद पनि राख्नुपर्ने हुन्छ ।
यो योजना बाँडफाँड भएको तीन महिनासम्म एकाइ धनीले एकाइ बिक्री गर्न पाउने छैन । त्यसपछि बिक्री गर्दा होल्ड गरेको समय अवधिको आधारमा शुल्क तिर्नुपर्ने हुन्छ ।
सामूहिक लगानी कोषको खुलामुखी योजनाको अवधि र आकार निश्चित हुँदैन । योजना सञ्चालनको पहिलो चरणमा एकाइ बिक्री गर्न सार्वजनिक निष्कासन गरिने भए पनि त्यसपछिको खरिद बिक्री प्रक्रिया व्यवस्थापकले गर्नुपर्ने हुन्छ । नेप्सेमा सूचीकृत नहुने यो योजनाको बजार सञ्चालन योजना व्यवस्थापकले नै गर्छ । यो योजनामा लगानी गर्ने लगानीकर्ता जति धेरै समय होल्ड गर्न सक्यो उति नै फाइदा हुन्छन् । २ वर्षभन्दा धेरै समय होल्ड गर्ने एकाइ धनीले बिक्री गर्दा शुल्कसमेत तिर्नुपर्दैन ।
यो योजनाको खुद सम्पत्तिको मूल्यांकनका आधारमा खरिद बिक्री हुने भए पनि वार्षिक रूपमा एकाइ धनीलाई १२ देखि १५ प्रतिशतसम्मको प्रतिफलसमेत दिने सम्भावना देखाएको छ । लगानीकर्ता किन्न आएको खण्डमा एकाइ दिने र बिक्री गर्न आएको खण्डमा खरिद गरी दिने काम व्यवस्थापकले गर्नै पर्ने हुन्छ । हाल धितोपत्र बजार पनि सुस्त भएकाले लगानीकर्ताको संख्या कम देखिएको भए पनि बन्दमुखी योजना सुरु हुँदाभन्दा धेरै लगानीकर्ता खुलामुखी योजनामा सहभागी भइसकेको थापा बताउँछन् ।