भुवन पौडेल
मंगलबार, बैशाख २४, २०७६
2298

सेयर बजारमा सट्टेवाज हावी भएपछि अस्वाभाविक उतारचढाव देखिन थालेको छ । सट्टेवाजले बजार चलाउन थालेपछि साना तथा नयाँ लगानीकर्तामा अन्योल उत्पन्न भएको छ । पछिल्ला केही साता उच्च अंकले बढेको सेयर बजारमा गत साताको मध्यदेखि करेक्सन सुरु भएको थियो । चार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः करिब २२ अंकले वढेको छ । यो साताको पहिलो दिन आइतबार १६ अंकले घटेको नेप्से सोमबार बढे पनि लगानीकर्ता बजारको दिशाप्रति अन्योलमै छन् । बजारमा देखिएको बुलिस र बियरिस प्रवृत्तिमा उच्च अंकको रहेको हुनाले लगानीकर्ता लगानी गर्ने कि नगर्ने भन्नेमा अन्योल छ ।
सामान्यतया सेयर बजारमा सट्टेवाज हुन्छन । तर, सट्टेवाज हावी भएको अवस्थामा लगानी गर्दा लगानीको जोखिम भने बढ्छ । सट्टेवाज नेप्सेमा सूचीकृत समूहहरू फेरेर खेलिरहेको देखिन्छ । बजार करेक्सन हुनुअघि वणिज्य बैंकका सेयरमा सक्रिय सट्टेवाज केही समय बिमा समूहतर्फ पनि लगे । तर, सोमबारको कारोबारमा पुनः बैंकिङ समूहतर्फको सेयर खरिद गर्न लोगेको देखिन्छ । बजार बढेको समयमा सट्टेवाजले एक समूहको सेयर खरिद गर्ने र अर्को समूहको सेयरमा थोरै भए पनि नाफा ‘बुक’ गर्ने गरेको देखिन्छ ।

सेयर बजार बढ्नुको बिकल्प नरहेको सीएफए विष्णुप्रसाद बस्याल बताउँछन् । “सट्टेवाज हरेक बजारमा हुन्छन्,” उनी भन्छन्, “अहिलेको बुलिस बजारमा पनि सट्टेवाज हावी भएको देखिन्छ ।” तर, बजार तथा आफूले सेयर किन्ने कम्पनीको उपयुक्त विश्लेषण गरेर लगानी गर्ने लगानीकर्तालाइ नै बजारले रिवार्ड गर्ने बस्यालको भनाइ छ । बजार अल्पकालीन र दीर्घकालीन गरी दुबै खालका लगानीकर्ता हुने भए पनि पर्याप्त विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ता कहिल्यै पछुताउनु नपर्ने उनको बुझाइ छ । सेयर बजारको वृद्धि क्रम तत्काल नै नरोकिइ अझै केही महिनासम्म चल्ने समेत उनको प्रक्षेपण छ ।
तर, सेयर बजारमा सट्टेवाज हावी भएकाले लगानीको निर्णय गर्न नसकेको एक लगानीकर्ता बताउँछन् । “सट्टेवाजले गर्दा कुन कम्पनीको सेयर मूल्य प्राकृतिक हो भन्नेमा नै अन्योल बढेको छ,” ति लगानीकर्ताले भने, “सट्टेवाज हावी भएपछि बजार एकै पटक उच्च अंकले बढ्ने र घट्ने गरेको छ, यसले साना तथा मझौला लगानीकर्तालाई तर्साएको छ ।”
सोमबार कारोबार सुरु हुँदा करिब ४ अंकसम्मले घटेको नेप्से परिसूचक कारोबारको अन्तिम समयमा उच्च अंकले बढेको हो । सोमबार वाणिज्य बैंकहरूको सेयर मूल्य उच्च सुधार आएपछि समग्र नेप्से परिसूचक २१.७३ अंकले बढेको छ । बैंकिङ समूहसँगै कारोबार भएका अधिकांश् समूहमा सुधार आएपछि समग्र बजार सूचक बढ्नमा थप मद्दत पुगेको हो । नेप्से परिसूचक बढे पनि कारोबार रकममा सुधार आउन नसकेपछि लगानीकर्ता मंगलबारको बजारलाइ पनि हेरेरमात्र निर्णय गर्ने पक्षमा देखिन्छन् ।
सोमबार नेप्सेमा १७२ कम्पनीको ८ हजार ५६ करोबारबाट ६३ करोड ३६ लाख रुपैयाँ बराबरका २० लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम बुलिस टे«ण्डको तुलनामा आधाले कम हो ।


सातामा धेरै पढिएको