कारोबार संवाददाता
मंगलबार, माघ १, २०७५
1422

सेयर कारोबार सुरु भएको दोस्रो दिन नै माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सम्पूर्ण सेयर कारोबार रद्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रविधिक कारण देखाई सोमबारको कारोबार रद्द गरेको हो ।
कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको थियो । आइतबार २ सय २४ रुपैयाँमा बन्द भएको कारोबार सोमबार भने एकैपटक ३ सय ३६ रुपैयाँ पुगेको थियो । नेप्से र सेयर दलालहरूको लापरबाहीका कारण लगानीकर्ता माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर खरिद–बिक्री गर्न अलमलिएका थिए ।

सोमबार बजार खुलेसँगै माथिल्लो तामाकोसीको सेयर रेञ्जभन्दा बाहिर गएर कारोबार भयो । प्राविधिक त्रुटीका कारण रेञ्जभन्दा माथि गएर कारोबार भएको भन्दै नेप्सेले त्यसरी भएको सेयर कारोबार रद्द गर्ने निर्णय गरेको जनाएको छ । यसबाट नेप्सेको अनलाइन कारोबार प्रणालीमा झन् विश्वासको संकट देखिएको छ । लगानीकर्ताहरूले पछिल्लो समय अनलाइन कारोबारमा दैनिकजसो समस्या देखिएको गुनासो गर्दा पनि नेप्सेले नसुनेको बताउँछन् । यसैगरी ब्रोकरहरूले पनि नेप्सेकै कारण लगानीकर्ता समस्यामा परेको जानकारी दिएको छ ।
नेप्सेको वेबसाइटमा देखिएको समस्याले कारोबार सूचकमा पनि समस्या देखिएको छ । आइतबार नेप्से परिसूचक ११७५.०५ अंकमा रोकिएकोमा सोमबार कारोबार सुरु हुँदा ११८३.२० अंकबाट सुरु भएको देखिएको थियो । यसले गर्दा दिनभरी नै लगानीकर्ता अलमलमा परेका छन् ।
माथिल्लो तामाकोसीको सेयर कारोबार रद्द भएको जनाए पनि प्रणालीबाट यसको कारोबारलाई नहटाइएको कारण नेप्सेको तथ्यांक नै गलत देखिएको छ । नेप्सेले भने वेबसाइटको इन्टरफेसमा देखिएको समस्याले गर्दा वास्तविक सूचक नेदेखिएको र साइटमा देखिएको समस्या समाधान गर्ने काम भइरहेको जनाएको छ । नेप्सेले डिस्प्लेमा बजार करिब १२ अंकले बढेको देखिए पनि दुई अंकसम्म मात्र बजार बढेको ग्राफमा देखिएको थियो । तर, साँझ अबेर नेप्से ११७८.०२ अंकमा बन्द भएको देखिएको छ । यसबाट सोमबार नेप्से २.९७ अंकलेमात्र बढेको स्पष्ट भएको छ । सोमबार साँझसम्म नेप्सेको वेबसाइटमा सेयर बजार मापन गर्ने नेप्से परिसूचक ११.७४ अंकले बढेर ११८६.८० अंकमा उक्लिएको देखिएको थियो ।