कारोबार संवाददाता
मंगलबार, मंसिर ५, २०७४
629

उम्मेदवारमाथि हालै भएका आक्रमणप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । हिंसाको प्रयोगद्वारा निर्वाचन प्रक्रियामा अवरोध पु¥याउने कुनै पनि प्रयासको निन्दा गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले बताएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणमा सबै पक्षलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रिया कायम गर्न र अपनाउन अमेरिकाले आग्रह गरेको छ । हिंसा वा हानीको डरत्रासबिना निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने नागरिकको हकलाई संरक्षण गर्नु लोकतान्त्रिक निर्वाचन प्रणालीको एक मुख्य सिद्धान्त भएको अमेरिकाको भनाइ छ ।

नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिम शान्तिपूर्ण अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता र मतदाताको अधिकारलाई सम्मान गर्न अमेरिकाले सबै पक्षलाई आग्रह गरेको छ । सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न अमेरिकाले आग्रह गरेको छ ।