कारोबार संवाददाता
शुक्रवार, मंसिर १, २०७४
682

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्रै रद्द भएको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका खाँणले बूढीगण्डकी आयोजनाको ठेक्कामात्र रद्द गरिएको भन्दै परियोजना भने रद्द नभएको स्पष्ट पारेका हुन् ।
केन्द्रीय मिडिया सेन्टरले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा खाँणले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवालाई ठेक्का दिएको र संसदीय समितिले समेत ठेक्का खारेज गर्न सरकारलाई निर्देशन दिएकाले ठेक्का रद्द गरिएको बताए । सोमबार बाम गठबन्धनले ठेक्का तोडेको भन्दै सरकारको आलोचना गरेको थियो । खाँडले ठेक्का तोड्दा परियोजना नै खारेज भए जसरी प्रचार गरिएको बताए । “संदीय समितिको निर्देशनअनुसार सरकारले ठेक्का तोडेको हो,” उनले भने, “परियोजना रद्द भएको होइन । चाँडै प्रतिस्पर्धाका आधारमा नयाँ ठेक्का सम्झौता हुन्छ ।”
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण बिनाप्रतिस्पर्धा चिनियाँ ठेकेदार कम्पनी गेजुवालाई ठेक्का दिने निर्णय खारेज गरेको थियो । नौ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना गोरखा जिल्लामा बन्दैछ ।