कारोबार संवाददाता
बुधवार, असार २४, २०७७
634

समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ । मंगलबार बसेको समाजवादी पार्टी पदाधिकारी बैठकले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको सिफारिस अनुसार गिरीमाथि कारबाही गरेको हो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।
अब समाजवादीले यससम्बन्धी जानकारी निर्वाचन आयोग र संसदमा पठाउनेछ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि सांसद गिरीले त्यसको विरोध गरेकी थिइन् । उनले नयाँ नक्सा अनुसार निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप समेत उल्लंघन गरेकी थिइन् ।

गएको जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो । समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।
त्यसअघि संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी गिरीले पार्टी निर्णय विपरित उक्त प्रस्ताव फिर्ता लिन पनि मानेकी थिइनन् । उक्त प्रस्ताव संसदमा पेश भने हुन सकेको थिएन ।

गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने
जनता समाजवादी पार्टीले सरिता गिरीलाई सांसद पदबाट फिर्ता बोलाएपछि लीला सिटौलालाई पठाउने भएको छ । समाजवादीको खस आर्य महिला कोटाबाट सांसद बनेकी गिरीलाई फिर्ता बोलाएपछि उनीपछि समानुपातिक सूचीको रोलक्रममा रहेकी सिटौलाले अवसार पाउने भएकी हुन् ।
समाजवादी पार्टीले मंगलबार गिरीलाई पार्टीको साधरण सदस्य र सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको थियो । समानुपातिक सांसद पदमुक्त भए बन्द सूचीमा रहेको रोलक्रमका आधारमा नियुक्त गर्न पाउने कानुनी व्यवस्था छ ।