कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७
602

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘नेकपाले प्राप्त गरेको यो जनमत सायद अरुले प्राप्त गरेको छ । प्रदेश सरकारको कुरा गर्दा पनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन ग¥यो भने यो सरकारले काम गर्ने हो ?’

पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोप लगाएका छन् । वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको उनको भनाइ छ ।
उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे । उनले भने, ‘क्वारेन्टिमा भौतिक दूरी कायम गर्न सकिएको छैन । सरकारले स्थानीय सरकारहरुलाई साधन स्रोत उपलब्ध गराएन ।’
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले साउनमा ४० हजारसम्म संक्रमित पुग्ने उल्लेख गरेको सुनाउँदै पौडेलले कोरोना संक्रमण बढिरहेको अवस्थामा एक लाखसम्म देखिने अवस्था पुग्ने आँकलन गरे ।