कारोबार संवाददाता
शुक्रवार, जेठ २३, २०७७
540

पोखरा कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई गण्डकी प्रदेशले आउँदो आर्थिक वर्ष २०७७÷०७८ मा ५० हजार जनालाई रोजगारी सृजना गर्ने भएको छ । कृषि, व्यवसाय र सेवा क्षेत्रमा गरी प्रदेश सरकारले आउँदो वर्ष करिब ५० हजारलाई रोजगार सृजना गर्ने गरी कार्यक्रम ल्याउने भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताए ।
संघ सरकारले ७ लाख रोजगार सृजना गर्ने भनेकोमा प्रदेश सरकारले ५० हजार रोजगार सृजना गर्ने मुख्यमन्त्री गुरुङले बताए । कोभिड १९ लाई पराजित गरी प्रदेशका जनता बचाउने पहिलो प्राथमिकता हुने त्यसपछि मात्र सरकारको ध्यान आर्थिक विकास र समृद्धि तर्फ हुने उनको भनाइ थियो ।

सवुत र प्रमाणका आधारमा गरिएका विरोध, आलोचनालाई स्विकार गरी अघि बढ्ने बताउँदै उनले लोकतन्त्रको मूल मन्त्रलाई मनन गरी अघि बढ्ने विश्वास दिलाए । कोरोनाको कारण करिब ३० हजार मानिसहरु गण्डकी प्रदेशमा आउने अनुमान गरिएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले उनीहरुलाई प्रदेशमा आउँदा पूर्ण रुपमा सुरक्षितका साथ व्यवस्थापन गर्न आफूहरु तयार रहेको जनाए ।
गरिबीको रेखामुनि रहेका अति विपन्न बर्गका परिवारलाई आधारभूत सहुलियतमा सहुलियत रासन कार्डको व्यवस्था गर्ने उनले बताए । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले यही जेठ १८ गते सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित भएको छ ।