कारोबार संवाददाता
बिहिवार, जेठ १५, २०७७
644

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन शुरु हुनासाथ अवरुद्ध भएको छ । प्रदेश सभाको बुधबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादीले भारतद्वारा अतिक्रमित गरिएको भूमिको विषयमा अवरोध गरेका हुन् ।
हिउँदे अधिवेशनमा नेपाली कांग्रेसले दर्ता गराएको लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्बन्धी संकल्प प्रस्तावमा छलफल गर्नुपर्ने, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई विवादित भूमि भनेको फिर्ता लिई माफी माग्नुपर्ने लगायतको माग गर्दै कांग्रेस र राजपाका प्रदेश सभा सदस्यहरुले बुधबार बैठक शुरु हुने वित्तिकै अवरोध गरेका थिए ।

मंगलबार बजेट अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०७७-७८ को बजेटको सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत गर्ने अनुमति पाएका आर्थिक मामिला तथा योजना मन्त्री बोहराले प्रस्तुती गर्नुअघि मन्तव्य राख्दै सो क्षेत्रलाई विवादित भूमि भनेका थिए । उनले त्यस्तो भन्दै गर्दा पत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री दिर्घबहादुर सोडारीले सचेत गराउँदै सो क्षेत्र विवादित नभएर नेपालकै रहेको जनाएका थिए । त्यसपछि पनि मन्त्री बोहराले भारतले विवादित बनाएको भनेका थिए ।
प्रतिपक्षी दलहरुले संघीय सरकारले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नक्सा अद्यावधिक गरिसकेकोले मन्त्रीले नै त्यस्तो अभिव्यक्ति दिन नमिल्ने जनाएका छन् । सदन अवरोध गर्ने प्रतिपक्षी दलका तर्फबाट संसद्मा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोबिन्दराज बोहराले मन्त्रीको अभिव्यक्ति सरकारकै अभिव्यक्तिका रुपमा रहने भएकोले मन्त्रीले माफी माग्नु पर्ने बताए । उनले नेपाली कांग्रेसको तर्फबाबाट पाँचौँ अधिवेशनकै बेला दर्ता गरिएको संकल्प प्रस्तावमाथि सदनमा छलफल हुनुपर्ने बताए ।
प्रतिपक्षी दलको अवरोधपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको बैठक बिहीबर बिहान ८ बजेसम्मका लागि स्थगित गरेका छन् । सभामुख थापाले सो अवधिसम्म विवाद समाधान गरेर आउन समेत निर्देशन दिएका छन् ।