कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
439

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको दुई वर्ष पूरा भएको छ । २०७५ जेठ ३ गते दुई पार्टी एकीकृत भएर नेकपा बनेको थियो ।
पार्टी एकताको दुई वर्ष पूरा भएको अवसरमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले शनिबार एक सन्देश जारी गर्दै देश र जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्न नेकपा प्रतिबद्ध रहेको बताएका छन् ।

कोरोना भाइरसको जोखिमका कारण देशभर लकडाउन भएकाले पार्टी एकताको वार्षिकोत्सवका अवसरमा कुनै औपचारिक कार्यक्रम भने भएनन् ।
शनिबार नै नेकपाका अध्यक्षद्वयले कम्युनिष्ट नेता मदन भण्डारी र जिवराज आश्रितको सम्झना गरेका छन् । २७ वर्षअघि भएको दासढुंगा घटनाकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता पनि उनीहरुले जनाएका छन् ।
२७ औं मदन आश्रित स्मृति दिवसका अवसरमा शनिबार संयुक्त वक्तव्य जारी गर्दै अध्यक्षद्वयले यस्तो प्रतिवद्धता जनाएका हुन् । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा मृत्यु भएको थियो । उनीहरु चढेको जिप त्रिशूली नदीमा खसेको थियो
‘उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्,’ ओली र प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२७ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिवद्धता पुनः व्यक्त गर्दछ ।’
त्यस्तै ओली–प्रचण्डले मदन आश्रितका विचार र आदर्शलाई अनवरत अवलम्बन गर्ने दृढ संकल्प समेत गरेका छन् । मदन आश्रित स्मृति दिवसकै सन्दर्भ पारेर ०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादीबीच एकीकरण गरेर नेकपा बनेको थियो ।