कारोबार संवाददाता
मंगलबार, फाल्गुन ६, २०७६
309

पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तुम्बाहाङ्फेलाई उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन् ।

यसअघि उक्त मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए । नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनियताको शपथ ग्रहण गरेर कार्यभार पनि सम्हालेकी छन् । उपसभामुख तुम्बाहाङ्फेले गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर पदबाट राजीनामा दिएपछि सत्तारुढ नेकपाले उपसभामुख तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाएको थियो ।