कारोबार संवाददाता
आइतवार, मंसिर १, २०७६
331

पोखरा- संघिय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रदेशका सभामुखको भेला हुने भएको छ । संसदीय पत्रकार मञ्च, गण्डकीको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हाल सभामुखहरुले गरेका गतिविधिको समिक्षा सहितको संघिय शासन व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले उपनिर्वाचनपछि सातवटै प्रदेशका सभामुख र उपसभामुखबिचको भेला हुने तयारी गरिएको बताएका हुन् ।
यूएनडीपीको सहयोगमा प्रदेशका जिल्लाहरुमा वारजोन स्थापना गर्ने भएको उनले जनाए । हरेक जिल्लामा भएको कार्यप्रगती विवरण एकै ठाउँबाट जानकारी लिन सक्ने गरी उक्त वारजोन स्थापना गर्न लागिएको सभामुख अधिकारीले बताए ।

श्रमजिवी पत्रकारको जटिल समस्या रहेको उल्लेख गर्दै सभामुख अधिकारीले प्रदेश सभाको तर्फबाट संसदीय पत्रकारहरुको हकमा आवश्यक सहयोग गर्न सकिने जनाए । अब सामूहिक हिसाबले बसेर श्रमजिबी पत्रकारलाई सेवा सुविधा दिने विषयमा छलफल गर्नुपर्ने उनले जनाए । श्रमजिबी पत्रकारहरुको विधयक आएको भए पनि हालसम्म पास हुन नसकेको सभामुख अधिकारीले बताए ।
संसदका कुनै पनि गतिविधिको सूचना पाउने अधिकार पत्रकारलाई भएको सभामुख अधिकारीले बताए । नेपाल पत्रकार महासंघ गण्डकीका सचिव इन्द्र पौडेलले कर्मचारीतन्त्रले संघियता कार्यान्वयनमा असर पारेको आरोप लगाए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारका धेरै संघ संस्था भए पनि पत्रकारको हकहित र उनीहरुको क्षमता अभिवृद्धि गर्ने काममा खासै ध्यान नपुगेको बताए । नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलले बिट पत्रकारिताको माग बढि राखेको अवस्थामा दक्ष पत्रकारको कमी भएको बताए ।