दीननाथ बराल
शुक्रवार, कार्तिक २९, २०७६
383

पोखरा-बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पोखरा भ्रमण गरेका छन् । नेपाल भ्रमणको क्रममा बिहिबार काठमाडौंबाट हेलिकोप्टरमा पोखरा आएका उनले माछापुछ्रे  हिमश्रृंखला अवलोकन गर्दै पोखराको फेवातालमा डुंगा सयर गरे ।
पोखरा सहित कास्कीको रुपाकोट गाउँपालिकाको समेत अवलोकन गरेर बंगलादेशका राष्ट्रपति हमिद बिहिबार नै काठमाडौं प्रस्थान गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ लगायतले स्वागत गरेका थिए भने रुपाकोट रिसोर्टबाट गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, सरकारका प्रवक्ता बस्नेत सहितको टोलीले विदाइ गरेको हो ।

पोखरा विमानस्थलमा उनलाई पन्चेबाजा सहित फूलमालाले स्वागत गरिएको थियो भने रुपाकोटमा विभिन्न जनजातिको झाँकी सहित प्रदर्शन गरेका थिए । बंगलादेशका राष्ट्रपति हमिदले पोखराको तालवाराही मन्दिर सहितको क्षेत्रमा डुंगा सयर गरेका थिए । पोखराबाट माछापुच्छ«े हिमश्रृंखला समेत देखेपछि उनी निकै खुसी भएका थिए । डुंगा सयर गरेपछि फिस्टेल लजमा खाना खाएर केही समय आराम गरेसँगै उनी रुपाकोट गाउँपालिकामा पर्ने रुपाकोट रिसोर्टमा पुगेका थिए । उक्त रिसोर्टमा उनले चिया पिएका थिए । उनको साथमा आएका करिब ५८ जनाको टोलीमा सहभागि अधिकांशले रुपाकोट रिसोर्टमा खाना खाए ।
बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमणको क्रममा सुरक्षा व्यवस्था मजबुद पारिएको कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । राष्ट्रपति हमिदको पोखरा भ्रमण अनौपचारिक रुपमा सम्पन्न भएको प्रजिअ केसीले जानकारी दिए । बंगलादेशका राष्ट्रपति हमिदलाई पोखरामा स्वागत गर्न विभिन्न ठाउँहरुमा फूलसहितको घडाले समेत स्वागत गरिएको थियो ।
बंगलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमणले आफूहरु पर्यटक बढ्नेमा निकै आशावादी भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक र नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पनि यस्ता देशका राष्ट्रपतिहरुको भ्रमणले निकै महत्व राख्ने भएको प्रवक्ता एवं भौतिक योजना तथा विकास मन्त्री बस्नेतले बताए ।