कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
432

झापा - नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सिमा विवाद देखिएको ठाउँको दशी प्रमाण सुरक्षित गरेर समाधानका लागि प्रधानमन्त्री स्तरबाट भारतसँग वार्ता गर्न सरकारलाई सुझाएका छन् । नेपाल प्रेस युनियन झापाको आयोजनामा बिर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा नेता पौडेलले वार्ताबाट समाधान नभए दोस्रो चरणमा मात्रै सिमा विवादको मुद्धालाई अन्र्तराष्ट्रियकरण गर्न सुझाव दिएका हुन् ।
“छिमेकीको हेपाहा प्रवृत्ति र सीमा सुरक्षामा नेपालको लापरबाहीका कारण सिमा सुरक्षामा प्रश्न उठेको छ”नेता पौडेलले भने, “अहिले दुइतिहाईको बलियो सरकार छ, कसैले ढाल्छ कि भनेर डराउनुपर्ने अवस्था छैन, यो सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीसहित सीमा विवाद देखिएका अन्य क्षेत्रमा नेपालको भूभागजतिका दशीप्रमाण फेला पारेर कडा रुपमा प्रस्तुत होस् ।” हिजो राष्ट्रवादको नारा लगाएर सत्तामा पुगेका प्रधानमन्त्री केपी ओलीले देश र जनतालाई धोका नदिई राष्ट्रिय छवी प्रस्तुत गर्न आग्रहसमेत गरे । त्यसमा प्रतिपक्षी दल कांग्रेसको सहयोग रहने प्रतिबद्धता जनाए ।
नेता पौडेलले दुईतिहाई बहुमतको सरकार हुँदा पनि नेपालको विकास र दीर्घकालीन योजनाका लागि लगानी नभित्रिएकाले समृद्धिको लक्ष पूरा नहुने आशंका व्यक्त गरे । “सरकार पुरानै योजनाको शिलान्यास र उद्घाटनमा अल्मलिएको छ, यसले कसरी समृद्धिको यात्रा पूरा हुन्छ ?” पैडेलले प्रश्न गरे । नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेता पैडेलले नेपालमा आर्य मंगोल र आग्नेय परिवारका समुदायको समिश्रित संस्कृति रहेको बताउँदै कांग्रेस सबैको संरक्षणको पक्षमा रहेको जनाए ।