दीननाथ बराल
शुक्रवार, कार्तिक २२, २०७६
289

पोखरा-कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा उप–निर्वाचनमा जिल्लाका १४ वटा राजनीतिक दलसहित २५ जनाको उमेदवारी परेको छ । मंसिर १४ गते हुने उपनिर्वाचनमा ११ स्वतन्त्रसहित २५ जनाको उमेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए । जिल्ला निर्वाचन कार्यालय कास्कीमा बिहीबार विभिन्न बाजा गाजा सहितको हजारौंको जुलुस सहित नेकपा, कांग्रेसलगायतका पार्टीका उम्मेदवारसहित २५ जनाले मनोनयन दर्ता गराएका हुन् ।
कास्की क्षेत्र नं. २ मा सत्तारुढ नेकपाको तर्फबाट विद्या भट्टराई र नेपाली कांग्रेसबाट खेमराज पौडेलले मनोनयन दर्ता गरे । भट्टराईको प्रस्तावकमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र समर्थकमा नेकपा नेतृ प्रभा कोइराला रहेकी छन् भने पौडेलको प्रस्तावकमा कांग्रेस नेता देवराज चालिसे र समर्थकमा अर्का नेता सोभियतबहादुर अधिकारी रहेका थिए ।
यस्तै, साझा पार्टीकी रजनी केसी, समाजबादी पार्टीका धर्मराज गुरुङ, रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्ल, मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, संघिय लोकतान्तिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेकपा मालेका टेकनाथ भण्डारीले पनि मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ता गर्नेमा देशभक्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट, राािष्ट्रय मुक्ति आन्दोलन नेपालबाट जयन्त विक्रम शाह, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घल रहेका छन् । स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमै, कमलजंंग कुंवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइरालाले आफ्नो उमेदवारी दर्ता गराएका छन् ।
उमेदवार दर्ता गर्नु अघि नेकपाले पार्टी कार्यालयबाट हाजारौंको सङख्यामा जुलुश प्रर्दन गर्दै उमेदवारी दर्ता ग¥यो भने कांग्रेसले पनि पोखरा सभागृहबाट सुरु भएको बाजागाजा सहितको हजारौं सहभागि जुलुसले उमेदवारी दर्ता गराएको हो । दुवै पार्टीका पोखराका फरक फरक ठाउँमा चुनावी सभा समेत आयोजना गरेका थिए । त्यसै गरी साना पार्टी अन्तर्गतको राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले पृथ्वीचोकमा राप्रपाको चुनावी सभालाई सम्वोधन समेत गरेको पार्टी प्रवक्ता सूर्य बाँस्तोलाले बताए ।

कास्कीमा हुने उपनिर्वाचनमा ३२ वटा मतदानस्थल छन् । ८२ वटा मतदान केन्द्र रहने भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । ११ वटा वडामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या छ । कास्की उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ जना मतदाता सङख्या रहेको छ ।
भट्टराईको अभियान पति अधिकारीको जन्मथलोबाट
मंसिर १४ गते हुने कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान आफ्ना दिवंगत पति रवीन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट सुरू गरेकी छन् । आफ्नो चुनावी अभियान शुरू गर्न भरतपोखरी पुगेकी भट्टराईलाई स्थानियले स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न आग्रह गरे । भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफू रवीन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको जनाइन्। नेकपा पोखरा महागरपालिका वडा नं. ३३ का अध्यक्ष गुरुप्रसाद क्रान्तिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सयौंका संख्यामा उपस्थित भरतपोखरीबासीले भट्टराईलाई निर्वाचनमा बिजयी सुनिश्चित भएको भन्दै निर्वाचनमा उम्मेदवार पाउँदा हर्षित भएको प्रतिक्रिया दिएका थिए ।
नेपाली कांग्रेसले भने शुक्रबारबाट चुनावी अभियान सुरु गर्ने भएको कागेंस कास्कीका सभापति कृष्ण केसीले बताए । उनले भने, “हामीले चुनावी अभियान शुक्रबारदेखि सुरु गर्दैछौं, कहाँबाट र कसरी सुरु गर्ने भन्ने बिषयमा गृहकार्य गर्दैछौं ।” साझा पार्टीले कास्कीमा यसअघि नै उम्मेदवारको घोषणा गरी घरदैलो कार्यक्रममा जुटेको छ ।

भक्तपुरमा २१ जनाको उम्मेदवारी
भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा११ दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराए । नेपाली कांग्रेसका तर्फबाट पूर्वक्षेत्रीय सभापति कृष्णलाल भँडेलले उम्मेदवारी दर्ता गराए । नेपाल मजदुर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गराए । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली कांग्रे्रेस (बिपी)बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाईं, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराए । स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजु, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, संगीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

दाङमा १४ जनाको उम्मेदवारी
 दाङ क्षेत्र नं.३ को (ख) का लागि १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसका तर्फबाट केशव आचार्य, नेकपाबाट विमला खत्री (वली) तथा राप्रपाबाट भुपाल रावत, साझा पाटीबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटीलाल थारुले मनोनयन गरेका छन् । यस्तै, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, मंगोल नेशनल पार्टीबाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (विपी)बाट दीपककुमार धिताल तथा स्वतन्त्र उम्मेदवारहरु गोविन्द विसी र टिकाराम आचार्यले उम्मेदववारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन जाँदा बाजागाजासहित उनीहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।

बागलुङमा १० जनाको मनोनयन
बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि १० जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली कांग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अनिलकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ । बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । बागलुङ–२ (ख) बाट निर्वा्चित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो ।